भाईरल पोष्ट, हरिवन ।। नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको मधेश प्रदेश स्तरीय भेला सर्लाहीको हरिवनमा सम्पन्न भएको छ ।
युनियनका मधेश प्रदेश अध्यक्ष लक्ष्मण कुर्मीको अध्यक्षता तथा नेपाली काँग्रेस सर्लाहीका उपसभापति नबीन अधिकारीको प्रमुख आतिथ्यतामा हरिवन स्थित सम्राट होटलमा भेला सम्पन्न भएको हो ।
भेलाले युनियनको रिक्त रहेको सर्लाही जिल्ला अध्यक्ष पदमा उपाध्यक्ष गोविन्द बहादुर थापालाई कार्यवाहक अध्यक्ष तोकेको छ । यसअघि जिल्ला उपाध्यक्ष रहनुभएका थापालाई भेलाले आगामी माघमा हुने जिल्ला अधिवेशन सम्मका लागि कार्यवाहक अध्यक्ष तोकेको हो ।
भेलाले युनियनको माघमा हुने अधिवेशनको तयारीका लागि सदस्यता नबीकरण लगायतका आन्तरिक कामहरु गर्ने निर्णय गरेको छ । भेलालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी नवीन अधिकारी, विशिष्ट अतिथि विनोद खनाल, सोनी कुमारी बोम्जन लगायतले आगामी मंसीर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका साझा उमेदवारलाई जिताउने अभियानमा लाग्न निर्देशन दिनुभएको छ ।
भेलामा अधिकारी, खनाल, बोम्जनसहित नेपाल शिक्षक संघ सर्लाहीका अध्यक्ष यमनाथ उप्रेती, नेपाली काँग्रेस सर्लाही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति कौशल किशोर राय लगायतका नेता तथा ट्रेड युनियन काँग्रेसमा आवद्ध पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।