राजु तामाङ, हरिवन ।। सर्लाहीको हरिवनमा श्रमजीवी महिलाहरुको विषयमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तरंगिनी फाउण्डेशनको सहकार्यमा श्रमजीवी महिला संजाल सर्लाहीले हरिवनस्थित सगुन सहकारी संस्थाको सभाहलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
‘‘महिलाको श्रमको सम्मान महिलाको काम काम हो, हामी सामाजिक सुरक्षा चाहन्छौं’’ भन्ने मुख्य विषयमा आधारित रही भएको अन्तरक्रियाका क्रममा अधिकांश अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको श्रमको अधिकार, सुविधा, अधिकार कार्यान्वयन, कामको पहिचान र सम्मान हुन नसक्नु र नेपालको श्रम कानुन अनुसार श्रमिक सुविधा नभएका कारण नेपाली महिला श्रमिकहरु यौनजन्य हिंसा, सामाजिक लान्छना, ज्यालामा असमानता जस्ता समस्याहरु भोग्न बाध्य भएको कुराहरुलाई विशेष रुपमा जोड दिइएको थियो ।
विभिन्न क्षेत्रमा अनौपचारिक रुपमा काम गर्दै आएका महिला श्रमिकहरुलाई संगठन बनाई परिचित गराउँदै सामाजिक सुरक्षाको दायरामा ल्याउन स्थानीय स्तरबाट संगठित गराई लान सके आफ्नो अधिकार सुनिश्चितताका लागि आफै सक्षम भै पहल गर्न सक्ने बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको संजालकी सर्लाही अध्यक्ष तारा घलानले जानकारी दिनुभयो ।
सञ्जालकी अध्यक्ष तारा घलानकै अध्यक्षतामा भएको कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै अन्तरपार्टी महिला संजाल हरिवनकी नगर अध्यक्ष पद्मा मोक्तानको विशिष्ट आतिथ्यता रहेको थियो भने हरिवन १ र २ का वडा अध्यक्षद्वय टम बहादुर घिसिङ र अर्जून योञ्जन तथा महिला नेतृ संचिता घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।
अन्तरक्रिया पश्चात श्रमजीवी महिला संजाल हरिवनको नगर कमिटी पनि गठन गरिएको सो कार्यक्रमको सञ्चालन गीता घिसिङले गर्नुभएको थियो ।