भाईरल पोष्ट, मलंगवा ।। बागमती सेवा समाज र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा २०२२ मा सञ्चालित परियोजनाको सल्लाहकार समितिको बैठक शुक्रबार मलंगवामा सम्पन्न भएको छ ।
विगत चारवर्षदेखि जिल्लाका हरिपुर्वा, पर्सा, चन्द्रनगर र ब्रह्मपुरीमा ती संस्थाले बालसंरक्षण, समुदायको संलग्नतामा स्पोन्सरसीप योजना, एकिकृत पोषण तथा उत्थानशील योजना, जिविकोपार्जन तथा सिकाई परियोजना सञ्चालन गरिरहेको छ । परियोजना सल्लाहकार समितिको वैठकमा ती संस्थाले सन २०२२ मा ति पालिकाहरुमा सञ्चालन गरेका विभिन्न परियोजनाहरुको मुख्य उपलब्धीहरु र चुनातिको बारेमा बैठकमा छलफल भएको हो । वैठकमा कार्यक्रम सञ्चालन गर्दाका अनुभव र सिकाईको पुनरावलोकन तथा समीक्षा समेत गरिएको थियो भने कार्यक्रमलार्य आगामी दिनमा थप प्रभावकारी र जवाफदेही बनाउन के के गर्न सकिन्छ भनेर सरोकारवालहरुसँग सुझाव समेत संकलन गरिएको थियो ।
जिल्ला समन्वय समितका सभापति कौशलकिशोर सिंहो प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी प्रमुख प्रवीण पोखरेल लगायत जिल्लाका विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।
बैठकलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी जिसस प्रमुख कौशलकिशोर सिंहले गैरसरकारी संस्थाहरुले जिल्लामा सामाजिक, आर्थिक तथा शैक्षिक सुधारमा पु¥याएको योगदानको सराहना गर्नुभयो । उहाँले जिल्लाको आर्थिक, सामाजिक, शैक्षिक तथा अन्य क्षेत्रको विकासमा थप सफलता प्राप्त होस भन्दै शुभकामाना व्यक्त गर्नुभयो ।
त्यस्तै बैठकलाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले गैर सरकारी संस्थाहरुले नेपाल सरकारको नीति अनुरुप नै दिगो विकासको लक्ष्य प्राप्त गर्न सरकारलाई नै सहयोग गरिरहेको बताउनुभयो । उहाँले सरकारको आवधिक योजनामा रहेर गैर सरकारी संस्थाहरुले सरकारलाई थप सहयोग गर्नुपर्ने बताउनुभयो । स्थानीय तहसँग के आवश्यकता छ, त्यहाँको आवश्यकतामा नै आधारित रहेर कार्यक्रम बनाउनुपर्ने र स्थानीय तहहरुले पनि कार्यक्रमको अपनत्व लिन सक्नु पर्ने प्रजिअ गौतमको धारणा छ ।
त्यस्तै प्रहरी प्रमुख प्रवीण पोखरेलले परियोजना सञ्चालन भएका पालिकासहित जिल्लाभर किशोरकिशोरी तथा बालबालिकाहरुमा लागूऔषधको समस्या बढ्दै र जटिल बन्दै गएकोले त्यसको समाधानमा सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले वल्र्ड भिजनको सहयोगमा बागमती सेवा समाज र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले बालबालिकाको क्षेत्रमा गरेको लगानी सराहनीय रहेको भन्दै ती संस्थाहरुलाई धन्यवाद दिनुभयो ।
वैठकमा शिक्षा विकास तथा समन्वय ईकाईका सुनिल कुशवाहा, हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, पर्सा बाल क्लव सञ्जालका अध्यक्ष हरेराम महतो, पर्सा गाउँपालिका बालबालिका शाखाकी प्रमुख नगिना साह लगायतले आ–आफ्नो धारणा राख्नुभएको वैठकको सहजीकरण वल्र्ड भिजनका चन्द्र मोक्तान, बागमती सेवा समाज नेपालका प्रमेश बादे, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका राम यादव र आदित्य पटेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नागेन्द्र प्रसाद साहले गर्नुभएको थियो ।