भाईरल पोष्ट, लालबन्दी ।। नेपाली काँग्रेसले देशव्यापी अभियानको रुपमा सुरु गरेको जनताको साथमा काँग्रेस अभियानको पहिलो चरणको अभियान शुक्रबार समापन भएको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको भाद्र ४ गतेको निर्णय अनुसार १० गतेदेखि देशभर पहिलो चरणको अभियान सुरु भएको थियो । सर्लाहीमा पनि भाद्र १० गते एक भव्य समारोहको आयोजना गरि सुरु गरिएको अभियानको शुक्रवार महामानव विस्सेश्वर प्रसाद कोईरालाको १०९औं जन्म जयन्तीको अवसर पारेर समापन गरिएको हो ।
विपी जन्मजयन्ती तथा अभियान समापन समारोहको अध्यक्षता काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले गर्नुभएको थियो भने प्रमुख अतिथी काँग्रेस केन्द्रीय सदस्य दिनेश यादव हुनुहुन्थ्यो । त्यस्तै पूर्वमन्त्री एवम् संविधानसभा सदस्य काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ विशिष्ट अतिथी रहनुभएको थियो । त्यस्तै जिल्ला समन्वय समिति सभापति कौशल किशोर सिंह, काँग्रेस जिल्ला कार्यसमिति सचिव निरोज कार्की, लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पना पाख्रिन, ईश्वरपुर नगरपालिकाकी उपमेयर रञ्जिता देवी चौधरी, काँग्रेस मधेश प्रदेश समिति सदस्य रामबाबु साह, उदयनारायण चौधरी, शर्मिला थापा, मदन विक, क्षेत्र नम्बर १(ख)का सभापति सीताराम दाहाललगायतको आतिथ्यतामा पहिलो चरणको अभियानको समापनसहित विपी जन्मजयन्ती भव्य रुपमा मनाईएको कार्यक्रमका सञ्चालक समेत रहनुभएका काँग्रेस नेता नारायण गुर्मछानले जानकारी दिनुभयो ।
पहिलो चरणको अभियान अन्तर्गत काँग्रेस सर्लाहीले ४ ओटै क्षेत्रमा क्षेत्रीय भेलाहरुको आयोजना गरेको थियो । आसन्न संघ र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै काँग्रेसले तीन चरणमा जनताको माझमा काँग्रेस अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पहिलो चरणको अभियान सफल भएको समापन कार्यक्रममा बोल्ने क्रममा नेताहरुले बताउनुभएको नेता गुर्मछानले बताउनुभयो । उहाँका अनुसार अब समानुपातिक उमेदवारको मनोनयन दर्तापछि दोश्रो चरणको र प्रत्यक्ष तर्फको उमेदवारी दर्तापछि तेश्रो र निर्णायक चरणको अभियान सञ्चालन गरिनेछ ।
अभियानको समापनसँगै महामानव विपी कोईरालाको सम्झना गर्दै कार्यक्रम समापन गरिएको छ । कार्यक्रमका अवसरमा बोल्दै नेताहरुले विपी कोईरालाको स्मरण गर्दै उहाँ प्रति श्रद्धासुमन अर्पन गरेका छन् । विपीको जीवनबाट नेपाली राजनीतिले ठुलो पाठ सिक्नुपर्ने र नेपाली काँग्रेसले पनि विपीले देखाएको बाटोमा लाग्नुपर्ने उनीहरुको धारणा थियो ।
त्यस्तै विपी जयन्तीक अवसरमा जिल्लाका विभिन्न स्थानमा शुक्रबार कार्यक्रम गरिएको छ । कतै शैक्षिक सामाग्री वितरणका कार्यक्रम भएका छन् भने शुक्रबार साँझ ठाउँठाउँमा विपीको स्मृतिमा दिप प्रज्वलनका कार्यक्रमहरु राखिएको नेपाली काँग्रेसले जनाएको छ ।
विश्वेश्वरप्रसाद कोइराला विस १९७१ भाद्र २४ गते जन्मिनुभएको थियो । उहाँ नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार हुनुहुन्थ्यो । उहाँले सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो । वि.पी. कोईराला नेपाली साहित्यको फरक बिम्ब र बहुआयामिक व्यत्तित्वका धनि हुनुहुन्थ्यो । नैतिकतालाई राजनितिमा पहिलो अनिवार्य योग्यताका रूपमा लिनुहँुदै नैतिकताले नै राजनीति सफल हुनेमा दृढ रहनुभएका उहाँले सदैव आफु भन्दा पार्टी र पार्टी भन्दा देशलाई महत्व दिने संस्कारको विकास गर्नु भएको थियो ।
उहाँका नरेन्द्र दाई, मोदी आईन्, तीन घुम्ती, दोषी चश्मा, हिटलर र यहुदी, सुम्निमा जस्ता कृतिहरु कालजयी रहेका छन् ।