भाईरल पोष्ट, गोडैता ।। बहुजन एकता पार्टी नेपालले आसन्न संघ र प्रदेशको चुनावलाई लक्षित गरी मधेश प्रदेशका विभिन्न जिल्लामा कार्यकर्तासँगको भेटघाटलाई तिब्रता दिएको छ ।
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा संघ तथा प्रदेश दुबैमा आफ्ना बढी भन्दा बढी उमेदवारलाई जिताउने अभियानस्वरुप सो पार्टीले घरदैलो अभियान सुरु गरेको हो ।
यसैक्रममा सो पार्टीका केन्द्रीय नेताहरु नै बुधवार सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न स्थानमा पुगेर कार्यकर्ताहरुसँग भेटघाट गरेका छन् । क्षेत्र नम्बर ४ मा पर्ने गहहिया, डुमरिया, बलरा, अर्नाहा, मिर्जापुर, लक्ष्मिपुर, बहुअर्वा, खैर्वा लगायतका गाउँमा पार्टीका नेता एवम् कार्यकर्ताहरुसँग निर्वाचनको विषयलाई लिएर भेटघाट तथा छलफल गरिएको सो पार्टीका बरिष्ठ नेता एवम् राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानले जनाकारी दिनुभयो ।
उहाँका अनुसार सो क्षेत्रबाट संघ र प्रदेशसभाको चुनावमा बहुजन एकता पार्टी नेपालले उमेदवारी उठाउने तयारी गरिरहेको छ । छलफलका क्रममा पार्टीका राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रंजनले पार्टीका कार्यकर्ताहरुलाई जनतासँगको भेटघाटलाई तिव्रता दिएर निर्वाचनको तयारीमा होमिन निर्देशन दिनुभएको छ ।
उत्पीडित, अपहेलित एवम् पछाडी पारिएका दलित समुदायका हक, अधिकार एवम् आवाजहरुलाई पार्टीले पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेको सो पार्टीले जनाएको छ । संगठन विस्तार, कार्यकर्ता भेटघाट एवम् पार्टी प्रवेश लगायतका कार्यक्रमहरु निरन्तर रुपमा भइरहेको बताउँदै पार्टीका बरिष्ठ नेता राजाराम पासवानले मूलधारका पार्टी र नेताहरुबाट नेपाली जनता आजित भइसकेकाले आफूहरुले बहुजन समुदायलाई शासक बनाउने उदेश्यले बहुजन एकता पार्टी नेपाल गठन गरेको बताउनुभयो ।
एक वर्ष अघि भदौ १८ गते निर्वाचन आयोगमा दर्ता भई अस्तित्वमा रहेको सो पार्टीले गएको स्थानीय तहको निर्वाचनमा समेत भाग लिएको थियो । उसले जिल्लाको बरहथवा नगरपालिकाको एउटा वडा जितेको थियो ।