राजु तामाङ, हरिवन ।। हरिवन बजारका १०७ जना फुटपाथ व्यापारीहरुले सडकक्षेत्र खाली गर्न दिएको समय थप गर्न माग गरेका छन् ।
भाद्र १९ गते मुख्य राजमार्गको दायाँबायाँ रहेका स्टल, ठेलागाढा, फलफुल पसल, अटो, ई–रिक्सा, म्याजिक तथा निर्माण सामाग्री र अन्य संरचना समेत हटाउन नगरपालिकाले १० दिने सूचना जारी गरेको थियो । नगरपालिकाले तोकेको अवधिमा त्यस्ता संरचना हटाउन समय अपुग हुने भन्दै व्यापारीहरुले समय थप गर्न नगरप्रमुखलाई सामुहिक पत्र बुझाएका हुन् ।
जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने हरिवन बजार त्यस्ता अव्यवस्थित संरचनाका कारण कुरुप बन्दै गएको र त्यसले दुर्घनाको जोखिम समेत बढाएको भन्दै हटाउन नगरपालिकाले सूचना जारी गरेको थियो । नगरपालिकाले जारी गरेको सूचना अनुसार हरिवन बजारको पूर्व लच्कादेखि पश्चिम नेपाल बैंकसम्म मुख्य राजमार्गको दायाँबायाँ सडक क्षेत्रधिकारभित्र पर्ने ७५ फिट खाली गर्न अनुरोध गरिएको थियो ।
नजिकिँदै गरेको चाडबाडका कारण नगरपालिकाले दिइएको १० दिने अवधिमा आफुहरुले पसल हटाई खाली गर्न नसकिने भन्दै नगरपालिकालाई पत्र मार्फत जानकारी गराइएको व्यवसायीहरुले बताएका छन् ।
उनीहरुले पत्रमा दुई बँुदे माग राख्दै दशै, तिहार र छठ पछिको ३ दिन भित्रमा आफुहरुलाई उचित स्थानमा व्यवस्थापन गरेमा खाली गर्न सकिने बताएका छन् ।
नगर प्रमुख रमेश बुढाथोकी कमलले पत्रलाई बुझ्नुहँुदै आवश्यक छलफल पछि निर्णय गरिने बताउनुभयो । कार्यपालिका टिमसँग छलफल पछि व्यवसायीको गुनासोलाई सम्बोधन गर्दै अगाडि बढ्ने उहाँले बताउनुभयो ।