भाईरल पोष्ट, मलंगवा ।। हरेक वर्ष भदौ २२ गते मनाईने निजामती सेवा दिवस आज सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
यस वर्षको १९औं निजामति सेवा दिवसको नारा ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ दिइएको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।
दिवसको अवसरमा आज बिहान सदरमुकाम मलंगवामा प्रभात फेरिसहित जिल्ला समन्वय समितिको परिसरमा विशेष कार्यक्रम आयोजना भएको थियो । नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सर्लाहीका अध्यक्ष उमेश मिश्रको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अवसरमा यसै वर्ष सेवा निवृत भएका ७ जना कर्मचारीहरुलाई कदर पत्रसहित सम्मान गरिएको छ ।
सम्मानित हुने कर्मचारीहरुमा चक्रघट्टा गाउँपालिकाका लेखापाल शिवशंकर प्रसाद कुशवाहा, चन्द्रनगर गाउँपालिकाका पुर्व प्रशासकीय अधिकृत हरिकान्त लाल कर्ण, जिल्ला अदालतका पुण्यदेव मण्डल, चक्रघट्टा गाउँपालिकाकै राजेश्वर प्रसाद साह, लालबाबु प्रसाद साह, बिरेन्द्र झा र किशोरी राय यादव रहनुभएको छ ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना तथा स्वागत मन्तव्य कर्मचारी मिलन केन्द्र सर्लाहीका सचिव सुनिल कुमार कुशवाहाले राख्नुभएको थियो । उहाँले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने हौसला दिवसले दिएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सेवाग्राहीको करबाट तलब भत्ता बुझने सबै कर्मचारीले सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिनुपर्ने बताउनुभयो । सरकारले कर्मचारीहरुलाई सबै सेवा दिएपनि राष्ट्रभक्त कर्मचारीहरु प्रति समाजमा स्थापित हुदै गएको नकारात्मक सोचलाई कर्मचारीहरुले सबल र सार्थक सेवा दिएर जनताको नुनको कर्ज चुकाउनु पर्ने बेला भएको उहाँले बताउनुभयो ।
दिवसकै अवसरमा ईलाका प्रशासन कार्यालय हरिवनमा पनि विशेष कार्यक्रमको आयोजना गरिएको जानकारी प्राप्त भएको छ ।