भाईरल पोष्ट, लालबन्दी ।। जिल्लाकै ठुलो र प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको लालबन्दीमा मुख्य लोकमार्गको ७५ फिट क्षेत्राधिकारभित्रका संरचना हटाउन नगरपालिकाले सूचना जारी गरेपछि उक्त निर्णयको कतै स्वागत त कतै आलोचना भईरहेको छ ।
भाद्र ९ गते बसेको कार्यपालिकाको बैठकले गरेको निर्णय हिजो २१ गते मंगलबार सार्वजनिक गर्दै नगरपालिकाले ७ दिनभित्र नगरपालिकाको वडा नम्बर १, ६,७,१७ मा पर्ने पूर्वपश्चिम राजमार्गको क्षेत्राधिकारभित्र पर्ने स्टल, पसल, ठेलागाढा हटाउन र सडक क्षेत्रभित्रबाट निर्माण सामाग्री समेत हटाउन सूचना जारी गरेको छ । ७५ फिट खाली गर्ने सूचना आएसँगै नेकपा एमालेका नेता एवम् वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा लालबन्दी नगरपालिकाको मेयरका उपविजेता गोविन्द महतले नगरपालिकाले हत्तारमा निर्णय गरेको टिप्पणी गर्नुभएको छ ।
‘सडकको क्षेत्राधिकारभित्र बिचबाट दायाँबायाँ २५/२५ मिटर पर्छ तर नगरपालिकाले ७५ फिट मात्रै खाली गर्न सूचना जारी गरेको छ । यो सरासर फुटपाथमा व्यवसाय गरेर जिविकोपार्जन गर्ने नागरीकलाई उठीवास गराउने खेल हो ।’ नेता महतले भाईरल पोष्टलाई टेलिफोनमा भन्नुभयो,‘फुटपाथ व्यापारीहरुलाई अन्यत्र दिगो व्यवस्थापन नगरीकन हटाउन खोजियो । नागरीकको रोजीरोटी खोस्ने अधिकार जनप्रतिनिधिलाई छैन ।’
नेता महतले नगरपालिकाले ८२ फिट नै क्लियर गर्नुपर्ने भएपनि त्यसो गर्दा जनप्रतिनिधिसहित पहुँच र पावरवालाहरुको घर नै भत्किने देखेपछि आफू जोगिन ७५ फिट मात्रै क्लियर गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले ८२ फिट नै क्लियर गर्ने निर्णय गरेर अघि बढे आफूहरुले पनि नगरपालिका र जनप्रतिनिधिलाई साथ दिने अन्यथा दिन नसकिने बताउनुभयो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा समेत एक स्टाटस पोष्ट गर्दै नगरपालिको निर्णयको आलोचना गर्नुभएको छ ।लालबन्दीमा पूर्वमा फुलजोर खोलादेखि पश्चिम लखनदेही खोलासम्मको मुख्य बजारमा फुटपाथमा व्यापार गर्ने झण्डै एकहजार बढी साना व्यापारीहरु छन् । नगरपालिकाले ७५ फुट क्लियर गर्न सूचना जारी गरेसँगै उनीहरुको निद हराम भई सकेको छ । उनीहरुले अब कहाँ गएर व्यापार गर्ने कसरी परिवार पाल्ने भनेर चिन्ता व्यक्त गरिरहेका छन् ।
यता लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले भने बजारमा हल्ला भएजस्तो नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘सडकको क्षेत्राधिकारभित्र ८२ फिट नै पर्नेमा दुई मत छैन । तर विगतमा पनि ७५ फिटकै अभ्यास भएको देखिएकोले तत्काल ७५ फिट क्लियर गर्ने निर्णय गरिएको हो । सडक विभागले फोर लेनको काम अघि बढाउने गरी सूचना जारी गरिसकेकोले पछि ८२ फिट नै क्लियर हुन्छ ।’
उहाँले ७५ फिट क्लियर गर्ने क्रममा विस्थापित भएकाहरुलाई तत्काल साझा संस्थामा व्यवस्थापन गरिने बताउनुभयो । ‘साझा संस्थाको जग्गामा नगरपालिकाले आवश्यक संरचना तयार गरेको छ । सडकमा त्यतिकै राखिएका म्याजिक, अटो तथा ठेलाहरुलाई त्यही व्यवस्थापन हुन्छ । सडकमा बसेर तरकारी बेच्नेहरुलाई कृषि विकास वैंकको खाली जग्गामा व्यवस्थापन हुन्छ ।’ नगरप्रमुख अधिकारीले भन्नुभयो,‘यसविषयमा आज दिउँसो सर्वपक्षीय बैठक बसेर के गर्ने भनेर छलफल हुँदैछ । छलफलबाट के निस्कर्ष निस्कन्छ त्यही अनुरुप नगरपालिका अघि बढ्छ ।’
उहाँले कुरुप बन्दै गईरहेको लालबन्दी बजार र मुख्य लोकमार्गलाई सुन्दर बनाउने नगरपालिकाको अभियानमा सहयोग गर्न समेत नगरवासीलाई आग्रह गर्नुभयो ।