भाईरल पोष्ट, लालबन्दी ।। नेकपा एमालेका मधेश प्रदेश कमिटी उपाध्यक्ष रेवती पन्तले आगामी मंसीर ४ गते हुने आम चुनावमा नेकपा एमालेले मधेशबाट संघीय संसदमा १८ ओटाभन्दा बढी सिट जित्ने दाबी गर्नुभएको छ ।
भाईरल पोष्ट टिभी युट्यूव च्यानलका लागि पत्रकार सोम दियालीसँगको कुराकानीमा एमालेका प्रभावशाली नेता समेत रहनुभएका उपाध्यक्ष पन्तले मधेश प्रदेशका ८ जिल्लाका ३२ ओटा निर्वाचन क्षेत्रमध्ये १८ ओटाभन्दा बढी क्षेत्रमा एमाले विजयी हुने बताउनुभयो ।
पाँचदलीय गठबन्धनको चेपुवामा पर्दा पनि देशैभर गएको स्थानीय तह निर्वाचनमा एमाले पपुलर मतका आधारमा पहिलो पार्टी भएको भन्नुहुँदै नेता पन्तले मधेश प्रदेशमा पनि पाँचौं नम्बरबाट दोश्रो नम्बरमा उक्लिएको बताउनुभयो । ‘मधेशका जनताले देश विकास गर्ने पार्टी एमाले मात्रै हो भनेर बुझिसकेका छन् । परमादेशबाट बनेको सरकारको गतिविधिले पनि मधेशी जनताले बुझिसके कि, को राष्ट्रवादी हो भनेर । मधेशी जनताले समृद्धि चाहेकोले सूर्य छापमा नै भोट हाल्छन् ।’ नेता पन्तले भन्नुभयो,‘मधेशवादी दल र काँग्रेस माओवादीको ठुटो व्यवहारबाट मधेशी जनता आजित भईसकेका छन् ।’
उहाँले मधेशसहित देशका सातै प्रदेशमा र संघमा पनि निर्वाचन पछि एमालेको सरकार बन्ने दाबी गर्नुभयो । ‘हाम्रो पार्टीले श्रद्धेय अध्यक्ष कमरेड केपी ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारिसकेको छ । केपी ओली र एमालेसँग देश विकासको स्पष्ट खाका छ । त्यसैले पनि हिमालमा मात्रै हैन, पहाड र मधेशमा मात्रै हैन । सिंगो देशैभर एमालेले जित्ने छ, तपाई लेखेर राख्नुस् ।’
नेता तथा कार्यकर्तालाई मंसीर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा पार्टीका उमेदवारहरुलाई जिताउनका लागि अहिलेदेखि नै तयारीमा लाग्न निर्देशन दिनुहुँदै नेता पन्तले एमालेको लोकप्रियताकै कारण अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको लहर समेत चलेको बताउनुभयो । ‘मधेश प्रदेशमा पनि तपाईले हेरिरहनुभएको छ नि, सप्तरीदेखि पर्सासम्म दिनदिनै अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लर्को नै लागेको छ । सर्लाहीमा पनि एकीकृत समाजवादीबाट केन्द्रीय सदस्यसहित जिल्ला कमिटीका अधिकांश पदाधिकारीसमेत गरी ५ सय भन्दा धेरै नेताहरु एमालेमा फर्किसक्नुभयो ।’ नेता पन्तले भन्नुभयो, ‘म प्रदेश कमिटीको उपाध्यक्ष अहिले मलाई पार्टी प्रवेशका कार्यक्रमहरुमा जान भ्याई नभ्याई भएको छ । अनि यो एमालेको लोकप्रियता र मधेशका जनतामा एमालेप्रति जागेको विश्वास नभए के हो त ?’
उहाँले गएको स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धन र अन्य विविध कारणले गर्दा आफूहरुले सोचेजस्तो नतिजा नआए पनि संघ र प्रदेशको निर्वाचनमा स्थानीय तहमा भएको कमीकमजोरी सुधारेर अघि बढ्ने बताउनुभयो ।
नेता पन्त आफै पनि यसपटक पहिलो पटक संघीय संसदको लागि चुनाव लड्दै हुनुहुन्छ । पार्टीले मधेश प्रदेशको जुनसुकै क्षेत्रबाट टिकट पाएपनि आफूले चुनाव जित्ने दाबी गर्नुहुने नेता पन्तको नाम सर्लाहीको क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ बाट सिफारिस समेत भईसकेको छ ।