भाईरल पोष्ट, लालबन्दी ।। नेकपा माओवादी केन्द्र लालबन्दी नगर कमिटीले सर्लाही क्षेत्र नम्बर १ बाट संघ र प्रदेशसभा सदस्यका लागि सम्भावित उमेदवारहरुको नाम सिफारिस गरेको छ ।
आगामी मंसीर ४ गते हुने संघ र प्रदेशसभाको चुनावमा काँग्रेस–माओवादी लगायतका ५ दलले गठबन्धन गर्ने भनेपनि जिल्लातहमा भने गठबन्धनकै दलहरुले धमाधम सम्भावित उमेदवारहरुको नाम सिफारिस गर्न थालेका छन् ।
यसैक्रममा नेकपा माओवादी केन्द्र लालबन्दी नगरकमिटीको मंगलबार बसेको बैठकले पनि संघीय संसदको प्रत्यक्ष तर्फ ४ जना र प्रदेशसभा सदस्यतर्फ ५ जनाको नाम सिफारिस गरेको छ ।
लालबन्दी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष एवम् माओवादी केन्द्र लालबन्दीका नगर उपाध्यक्ष शुक्र लामाका अनुसार पार्टीका केन्द्रीय सदस्य एवम् वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा लालबन्दी नगरपालिकाको मेयरका प्रत्यासी उमेदवार प्रह्लाद बुढाथोकीको नाम संघीय संसदको प्रत्यक्ष तर्फ पहिलो नम्बरमा सिफारिस भएको छ ।
त्यस्तै संघीय संसदकै प्रत्यक्ष तर्फ हेम बहादुर श्रेष्ठ(श्याम)। हेमराज दाहाल(सन्तोष) र घनश्याम देवकोटाको नाम पनि सिफारिसमा परेको छ ।
त्यस्तै प्रदेशसभा(ख)को प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरेको नगर कमिटीले लुमडी प्रसाद धिमाल(लोचन)को नाम पहिलो नम्बरमा सिफारिस गरेको छ । धिमाल २०६४ मा भएको संविधानसभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर १ बाट चुनाव लड्नु भएको थियो । त्यस्तै प्रदेशसभाको प्रत्यक्षतर्फ नै सावित्रा बुढाथोकी, सो पार्टीका लालबन्दी नगर अध्यक्ष लेखराम जर्गा मगर(अर्जुन), नेता राजन श्रेष्ठ र प्रेम कुमार अधिकारीको नाम पनि सिफारिस भएको छ ।
संघीय संसदको समानुपातिक उमेदवारहरुका लागि भने लालबहादुर माझि(मनिष), अरुण बराईली(समीर) र रामनारायण चौधरीसहित ३ जनाको नाम सिफारिस भएको छ । प्रदेशसभा(ख)को समानुपातिक तर्फ नेता रामकिशोर राय(विश्वजीत), लक्ष्मी तामाङ्ग बराईली, सुमित्रा श्रेष्ठ, मन्जुला कुमारी पासवान र शोभा कुमारी पौडेल गरी ५ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर १ कै प्रदेशसभा(क) तर्फको उमेदवारहरुको नाम भने ईश्वरपुर नगरकमिटीले गर्ने बुझिएको छ ।