भाईरल पोष्ट, हरिवन ।। सर्लाहीको हरिवनस्थित समता स्कुलले स्कुलको भौतिक तथा शैक्षिक सुधारका लागि सहयोग गर्न स्थानीय सरकार तथा सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
सोमबार हरिवन नगरपालिकाका मेयर, उपमेयर, सम्बन्धित वडाका वडाअध्यक्ष, समाजसेवी, शिक्षाप्रेमीहरुको उपस्थितिमा विद्यालयको वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकदेव कार्कीले समता स्कुलको भौतिक संरचना निर्माणमा सहयोग गरिदिन स्थानीय सरकार र सरोकारवालाहरुलाई आग्रह गर्नुभएको हो ।
समता स्कुल एउटा विशुद्ध शिक्षा मूलक संस्था हो । यसले देशका ७७ ओटा जिल्लासहित विदेशमा समेत एक सय रुपैयाँमै पठनपाठन गराउँदै आएको छ । सर्लाहीको हरिवनमा पनि विगत ७ वर्षदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको स्कुल सुरुमा बाँसले बनेको घरमा सञ्चालन भएको थियो ।
पछि यसको व्यवस्थापनले स्कुललाई पक्की संरचनामा लैजाने निर्णय गरी नगरपालिका, सरोकारवाला निकाय र अन्य दाताहरुसमेतसँग सहयोग संकलन गरेर ३ कोठे भवन निर्माण गरी पठनपाठनलाई अघि बढायो । तर विद्यार्थीको चाप दिनप्रतिदिन बढ्दै गएपछि स्कुललाई थप भवनको आवश्यकता हुँदै गयो । तर स्रो नभएपछि व्यवस्थापन समितिले नगरपालिका र अन्य दाताहरुसँग सहयोग संकलन गरेर अहिले ५ कोठे अर्को भवन बनाईरहेको छ ।
हरिवन ८ मा ३० वर्षको लागि जग्गा भाडामा लिएर बालबालिकालाई सर्वसुलभ शिक्षा दिँदै आएको सो स्कुलमा अहिले २ सय विद्यार्थी अध्ययनरत छन् । १२ जना शिक्षिकासहित कक्षा ६ सम्म पठनपाठन भईरहेको स्कुलका लागि थप भवन आवश्यक भएको तर निर्माण हुँदै गरेको भवनको निर्माण पूरा गर्न समेत स्रोत नभएपछि नगरपालिका र अन्य सरोकारवालाहरुसँग सहयोगको याचना गर्नुपरेको व्यवस्थापन समितका अध्यक्ष कार्कीले बताउनुभयो ।
स्कुलले आयोजना गरेको छलफलका क्रममा बोल्नुहुँदै हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले समता स्कुलले नगरको शिक्षामा अमूल्य योगदान गरिरहेकोले नगरपालिकाले स्कुलका लागि आवश्यक पर्ने सहयोग गर्ने बताउनुभयो । उहाँले हरिवन नगरपालिकामा १५ हजार बालबालिकामध्ये साढे सात हजार सामुदायिक विद्यालयमा अध्ययन गर्ने र त्यति नै संख्यामा निजी विद्यालयमा अध्ययन गर्ने गरेको भन्नुहुँदै निजी र सामुदायिक विद्यालयभन्दा बाहिरका बालबालिका समता स्कुलमा अध्ययन गर्ने गरेको बताउनुभयो । उहाँले सो स्कुलको बन्दै गरेको भवनको अधुरो काम सम्पन्न गर्न र हिउँद लागेपछि स्कुलको कम्पाउण्ड समेत सरसफाई गर्न नगरपालिकाले आवश्यक रकम उपलब्ध गराउने बताउनुभयो ।
त्यस्तै छलफलमै भाग लिनुहुँदै उपमेयर हरिमाया घलानले पनि समता स्कुलले नगरको शिक्षामा पु¥याएको योगदानको सराहना गर्नुभयो । उहाँले पनि नगरपालिका समता स्कुलको समस्यामा गम्भीर भएको बताउनुभयो । त्यस्तै वडा नम्बर ८ का वडाअध्यक्ष प्रज्वल ढुंगानाले वडाबाट हुन सक्ने सबैखाले सहयोग समता स्कुललाई उपलब्ध गराउने बताउनुभयो ।

त्यस्तै बागमती सेवा समाजका अध्यक्ष एवम् समाजसेवी भरत कुमार कार्कीले समता स्कुलको भौतिक संरचना निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले विगतदेखि नै आफूले पनि यो स्कुललाई व्यक्तिगत तथा संस्थागत सहयोग समेत गर्दै आएको बताउनुहुँदै शिक्षामा दान गर्दा कसैलाई घाटा नहुने भएकोले देशविदेशमा बस्नुहुने दाताहरुलाई पनि समता स्कुललाई सहयोग गर्न आग्रह गर्नुभयो ।

छलफलमा सहभागि नगरप्रमुख रमेश बुढाथोकी, उपप्रमुख हरिमाया घलान, वडा अध्यक्ष प्रज्वल ढंगाना, समाजसेवी भरत कुमार कार्की, स्थानीय शंकर खड्कालगायतलाई स्कुल छात्राहरुले स्वागत गरेका थिए भने छलफल लगतै जनप्रतिनिधि र सरोकारवालाको टोलीले सो स्कुलको अवलोकन गरी भौतिक संरचना निर्माणको अवस्थाबारे जानकारी लिनुभएको थियो ।