भाईरल पोष्ट, लालबन्दी ।। पार्टीले प्रदेशसभा सदस्यमा नाम सिफारिस गरेपछि एमाले नेता बेचुराज तिमल्सिना चुनावको तयारीमा लाग्नुभएको छ ।
पार्टीले तिमल्सिनाको नाम क्षेत्र नम्बर १ को (ख) मा प्रदेश सभा सदस्य उमेदवारको लागि सिफारिस गरेपछि उहाँले उत्साहित हुँदै नेता कार्यकर्ता र मतदातासँगको भेटघाटमा लाग्न थाल्नुभएको हो ।
आईतबार लालबन्दीस्थित मदनआश्रित भवनमा क्षेत्रीय अध्यक्ष डिल्ली अधिकारीको अध्यक्षतामा बसेको क्षेत्रीय कमिटिको विस्तारित बैठकले तिमल्सिनाको नाम प्रदेशसभा सदस्य उमेदवारको लागि सिफारिस गरेको थियो ।
आगमी मंसीर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले लगायतका दलहरुले धमाधम सम्भावित उमेदवारहरुको नाम सिफारिस गर्न थालेका छन् । सर्लाही क्षेत्र नम्बर १ मा पनि एमालेले संघीय संसदको लागि ७ जनाको नाम सिफारिस गरेको छ भने प्रदेशसभा तर्फ क र ख दुबै क्षेत्रमा थुप्रै नेताहरुको नाम सिफारिस गरेको छ ।
सिफारिस नाम मध्ये बेचुराज तिमल्सिनाले आफूले नै अन्तिम टिकट पाउनुपर्ने दाबी गर्नुभएको छ । उहाँले आफू २५ वर्षजति जिल्ला कार्यसमिति सदस्य, दुई कार्यकाल ईलाका इन्चार्ज, युवा संघ नेपालको केन्द्रीय सदस्य हुने सर्लाहीकै पहिलो व्यक्ति, यूवासंघकै जनकपुर अञ्चल संयोजक भई पार्टीमा योगदान गरेकोले टिकट आफूले पाउनुपर्ने दाबी गर्नुभयो । त्यस्तै उहाँ २०४९ सालमा भएको आम निर्वाचनमा साविक पत्थरकोट गाविसको पहिलो उपाध्यक्ष समेत हुनुहुन्छ ।
नेता तिमल्सिनाले भन्नुभयो, ‘टिकट पाउने आधार भनेको पार्टीमा गरेको योगदान पनि हो । मैले पार्टीकै काममा सिङ्गो उमेर नै खर्चेको छु । जित्ने आधार हुनु पनि पार्टीले टिकट दिने अर्को आधार हो । म यही क्षेत्रको बासिन्दा हुँ । यही जन्मे हुर्केको हुनाले यहाँका जनताले मलाई नजिकबाट चिन्नभएको छ । त्यतिमात्रै हैन यो क्षेत्रमा मैले चुनाव जित्ने थुप्रै आधारहरु छन् । पार्टीले विश्वास गरेर टिकट दिए जित्नेछु र जनताको काममा दिलो ज्यानले लाग्नेछु ।’