भाईरल पोष्ट, लालबन्दी ।। नेकपा एमालेका मधेश प्रदेश कमिटीका उपाध्यक्ष एवम् प्रभावशाली नेता रेवती पन्तको नाम सर्लाहीका दुई ओटा क्षेत्रबाट सिफारिस भएको छ ।
आगामी मंसीर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनमा नेता पन्तले पनि चुनाव लड्ने ईच्छा राख्नुभएपछि क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटीले उहाँको नाम संघीय संसदको लागि सिफारिस गरेको हो ।
निकै लामो समयदेखि नेकपा एमालेमा सक्रिय हुनुभएका पन्त क्षेत्रीय इन्चार्ज हुँदै पार्टीको जिल्ला अध्यक्ष भईसक्नु भएको नेता हुनुहुन्छ । उहाँ हाल पार्टीको मधेश प्रदेश कमिटीको उपाध्यक्ष हुनुहुन्छ । तर चुनाव लडेको अनुभव भने उहाँसँग छैन ।
२०७४ सालमा भएको आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने ईच्छा राख्नुभएको भएपनि बाम गठबन्धनका कारण उहाँ पछि हट्नुभएको थियो । पदको लागि नभई देश र जनताको हितमा काम गरौं भनेर राजनीति गरेको बताउनु हुँदै नेता पन्तले यसपटक भने चुनाव लड्ने ईच्छा पार्टीमा राखेको बताउनुभयो । उहाँले सर्लाहीको क्षेत्र नम्बर १, ३, ४ वा महोत्तरी, धनुषा, सिरहा, सप्तरी अथवा मधेश प्रदेशका जुनसुकै निर्वाचन क्षेत्रबाट टिकट दिएपनि आफूले चुनाव जितेर देखाउने बताउनुभयो ।
नेता पन्त भन्नुहुन्छ, ‘म मधेश प्रदेशको उपाध्यक्ष हुँ, मलाई पार्टीले सर्लाही क्षेत्र नम्बर १, ३, ४ वा महोत्तरी, धनुषा, सिरहा, सप्तरी वा मधेश प्रदेशका जुनसुकै क्षेत्रबाट पनि टिकट दियो भने म जितेर देखाउँछु ।’ उहाँले आफूले ईच्छा राखेको तर टिकटको लागि मरिहत्ते नगर्ने पनि बताउनुभयो । ‘मैले पार्टीमा चुनाव लड्ने ईच्छा राखेको छु । पार्टीले उपयुक्त ठानेर टिकट दिएछ भने जहाँबाट पनि लड्न तयार छु । हैन तेरो आवश्यकता पार्टीलाई छ अहिले चुनाव नलड पार्टीकै काममा लाग भन्यो भने जसरी नि टिकट चाहिन्छ भनेर मरिहत्य गर्दिन ।
आफू सर्लाही क्षेत्र नम्बर ३ को स्थायी बासिन्दा भएपनि अन्य क्षेत्रमा गएर चुनाव लड्दा पनि चुनाव जित्ने बताउनुभयो । ‘म एमालेको मान्छे हुँ । पार्टीले मलाई उमेदवार बनायो भने अन्य क्षेत्रको मान्छेलाई भोट हाल्दैनौं भनेर एमालेका कार्यकर्ताले भन्दैनन्, यदि भन्छन् भने ति एमालेका कार्यकर्ता नै होईनन् ।’