सोम दियाली, लालबन्दी ।। आगामी मंसीर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले क्षेत्र नम्बर १ बाट पार्टी अध्यक्ष राजनारायण साहसहित ७ जनाको नाम सिफारिस गरेको छ ।
आईतबार लालबन्दीस्थित मदनआश्रित भवनमा बसेको सो पार्टीको क्षेत्रीय कमिटीको बैठकले क्षेत्र नम्बर १ को बाट संघीय संसदको उमेदवारका लागि पार्टीका जिल्ला अध्यक्ष राजनारायण साह, मधेश प्रदेश उपाध्यक्ष रेवती पन्त, प्रदेश कमिटी सदस्यद्वय मनोज कुमार देवकोटा र मान बहादुर खड्का, नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य एवम् मधेश प्रदेश संयोजक बलराम पोखरेल, संविधान सभा सदस्य रन्जना सरकार र नेता रेवत अधिकारीसहित ७ जनाको नाम सिफारिस गरेको हो ।
क्षेत्रीय कमिटीले सिफारिस गरेको नाममध्ये जिल्ला अध्यक्ष साह २ नम्बर क्षेत्रवासी हुनुहुन्छ भने उहाँको २ नम्बर क्षेत्रबाट समेत सर्वसम्मत रुपमा एकल नाम सिफारिस भईसकेको छ । त्यस्तै मधेश प्रदेश उपाध्यक्ष पन्त ३ नम्बर क्षेत्रवासी हुनुहुन्छ भने अन्य सबै क्षेत्र नम्बर १ बासी नै हुनुहुन्छ ।
त्यस्तै क्षेत्रीय कमिटीको बैठकले प्रदेशसभामा पनि सम्भावित उमेदवारहरुको नाम सिफारिस गरेको छ । जसमा प्रदेश सभा (क) मा यूवा नेता सिबी साह, अहमद मिकरानी, मिनकुमार स्याङ्तान, सरितादेवी चौधरीसहित ४ जनाको नाम सिफारिस भएको छ ।
यता प्रदेशसभा (ख) तर्फ भने एक दर्जनबढी नेताहरुको नाम सिफारिस भएको छ । प्रदेशसभामा आकांक्षीहरु धेरै भएपछि सबैको नाम सिफारिस गरिएको क्षेत्रीय कमिटीले बताएको छ । प्रदेशसभा(ख) मा सिफारिस हुनेहरुमा नेता बेचुराज तिमल्सिना, पूर्ण बहादुर गोले, शान्ति लामा, उत्पला ढुंगेल, लालसिंह लामा, लिलिप साह, शिवहरी गौतम, रामप्रसाद चौधरी, बाबुराम योन्जन, सरोजबाबु न्यौपाने, उमेश आचार्य, कमल पौडेल र जिल्ला उपसचिव प्रकाश थापा रहनुभएको छ ।
बैठकले संघ र प्रदेशसभामा समानुपातिक उमेदवारहरुको नामावली समेत तयार गरेको जनाएको छ ।
संघ र प्रदेशमा नाम सिफारिस भएसँगै अब टिकट कस्ले पाउलान भन्ने चर्चा चल्न थालेको छ । सबै नेताहरुको आ–आफ्नै दाबी आफैले टिकट पाउने रहेको छ । भाईरल पोष्टसँगको संक्षिप्त कुराकानीमा उहाँहरुले क्षेत्रीय कमिटीले नाम सिफारिस गरिसकेकोले अब टिकट आफैले पाउने बताएका छन् ।
विशेषगरी सर्लाही क्षेत्र नम्बर १ मा संघीय संसदमा जिल्ला अध्यक्ष राजनारायाण साहको नाम निकै अघि चर्चामा थियो । उहाँको नाम क्षेत्र नम्बर २ बाट समेत सिफारिस भएकोले १ नम्बर क्षेत्रमा उहाँले ईच्छा राखेपनि पार्टीले टिकट दिन सक्ने अवस्था नभएको एमाले नेताहरुको बुझाई छ । त्यस्तै मधेश प्रदेश कमिटीका उपाध्यक्ष रेवती पन्तको चर्चा पनि यो क्षेत्रमा संघीय संसदको लागि निकै अघि देखि नै चलेको हो ।
उहाँ पनि यस क्षेत्रबाट पार्टीले टिकट दिए आफूले चुनाव जितेर देखाउने दाबी गर्नुहुन्छ । तर यहाँका नेता कार्यकर्ताहरु भने रेवती पन्त हुन्छ र हुन्न भन्ने गरी दुई खेमामा विभाजित भएका देखिन्छन् ।
त्यस्तै सर्लाही क्षेत्र नम्बर १ मा गठबन्धनलाई पराजित गर्न सक्ने उमेदवारको रुपमा प्रदेश कमिटी सदस्य मनोज कुमार देवकोटालाई लिइएको छ । ईश्वरपुर नगरपलिकाका संस्थापक मेयर समेत रहनुभएका देवकोटाको हरेक पटकको चुनावमा संघीय संसदको लागि नाम चर्चामा रहने गरेको छ । यो पटक देवकोटा जतिको भारी नेता अरु नभएकोले देवकोटाले टिकट पाए गठबन्धनलाई धुलो चटाउन सकिने यहाँका नेता कार्यकर्ताहरुको बुझाई छ ।
त्यस्तै संविधान सभा सदस्य रन्जना सरकारको नाम संघीय संसदको उमेदवारको लागि चर्चामा भएपनि नेता कार्यकर्ताले खासै पत्याएको देखिँदैन । गठबन्धनसँग फेस गर्न यहाँ भारी नेताहरुलाई नै टिकट दिनुपर्ने यहाँका नेता कार्यकर्ताहरुको बुझाई छ ।
त्यस्तै यहाँ नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य समेत रहनुभएका नेता बलराम पोखरेलको नाम पनि खुबै चर्चामा छ । बुद्धिजीवी, शिक्षित, पार्टी र जनताका समस्यालाई नजिकबाट बुझेर हल गर्न सक्ने नेताको रुपमा पोखरेललाई हेरिएको छ । उहाँले पनि आफूले टिकट पाए चुनाव जितेर देखाउने दाबी गर्नुभएको छ ।