भाईरल पोष्ट, मलंगवा ।। भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेममा जातपात, रुपरंग र धनसम्पत्ति केही हेरिँदैन । हेरिन्छ त केवल विशुद्ध मन र मनभित्रको चोखो माया । तर नेपाली समाजले अझै पनि प्रेमलाई सम्मान गर्न जानेको छैन । यहाँ अझै पनि जातपात, धनीगरीब र रुपरंगको आधारमा प्रेमको परिभाषा गर्ने गरिन्छ । कानूनले सबै मानिस समान हुन भने पनि नेपाली समाजले उच निच जातको आधारमा गरिने प्रेम र विवाहलाई स्वीकार गर्दैन ।
यस्तैमा सर्लाहीका एक जोडीले भने समाजमा विद्यमान जातीय भेदभाव र छुवाछुतले व्याप्त समाजलाई नै चुनौती दिँदै अन्तरजातीय विवाह गरेका छन् । जिल्लाको चक्रघट्टा गाउँपालिका १ का रामसेवक यादवका छोरा २२ वर्षिय जंगीलाल यादव र ब्रह्मपुरी गाउँपालिका १ बस्ने विरेन्द्र रामकी २३ वर्षिया छोरी राधादेवी चमारले अन्तरजातीय विवाह गरेका हुन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीको सहयोगमा उनीहरुले जिल्ला अदालत सर्लाहीबाट कानूनी रुपमै अन्तरजातीय विवाह गरेका हुन् । अदालतले उनीहरुलाई भाद्र १३ गते अन्तरजातीय विवाह गरेको प्रमाण पत्र दिएको छ ।
कानूनी रुपमै विवाह गरेपनि केटापक्षको परिवारले अन्तरजातीय विवाहलाई अस्वीकार गर्दा जंगीलाल र राधादेवीको जोडीलाई समस्या भएको छ ।
केटाका बुबा रामसेवक यादवले तल्लो जातको केटीसँग विवाह गरेको भन्दै घरबाटै निकालेपछि ती जोडी घर न घाटको भएका छन् । उनीहरु अहिले ब्रह्मपुरी १ स्थित केटीको माईतीमै बसिरहेका छन् ।
उनीहरुलाई घर फर्काउन पहल गर्न नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीले सरोकारवालाहरुसँग माग गरेको छ । ती जोडीले पनि आफूहरु एकअर्काबिना बाँच्नै नसक्ने भएपछि एक वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेको बताएका छन् । उनीहरुले मन मिलेपछि जातपातले छेक्ने रहेनछ तर समाजले हाम्रो प्रेमलाई स्वीकार गर्न सकेन । अहिले २१औं शताब्दीमा पनि जातपातको नाममा कु–चलन यथावत रहनु र अन्तरजातीय प्रेम जोडीलाई स्वीकार गर्न नसक्नु अत्यन्तै दुःख रहेको उनीहरुको प्रतिक्रिया छ । उनीहरुले आफूहरुलाई घरपरिवार र समाजसँग मिलेर बस्ने वातावरण मिलाई दिन आग्रह समेत गरेका छन् ।
विगत एक वर्षदेखि जंगीलाल र राधाबिच प्रेम थियो । सामाजिक रुपमा बहिष्करणमा पर्ने डरले उनीहरुले आफ्नो प्रेमलाई लुकाएरै राखे । परिवारलाई भने छुटाईदिने डर भयो । उनीहरु एक अर्कालाई औधी माया गर्छन् । प्रेम हुर्कँदै गयो । एक अर्काबिना बाँच्न नसक्ने भएपछि उनीहरुले अन्ततः कानूनी विवाह गर्ने निधो गरे ।
कानूनी विवाहका लागि सहयोग गरिदिन उनीहरुले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीमा निवेदन दिए । संघकै सहयोगमा उनीहरुले जिल्ला अदालतबाट विवाहको कानूनी मान्यता पाएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका संस्थापक अध्यक्ष दलित तथा मानव अधिकारकर्मी राजेश पासवानले बताउनुभयो । ।
अन्तरजातीय विवाह गरेकै कारण बरिष्करणमा पर्ने जोडीहरुलाई समाजमा स्थापित गराउन सबैले भूमिका खेल्नु पर्ने मानवअधिकारकर्मी सुन्दर श्याम यादवले बताउनुभयो । उहाँले अब पनि जातजातीको नाउँमा, छुवाछुतको नाउँमा समाजलाई पछि पर्न दिन नहुने बताउनुभयो ।
उहाँले जंगीलाल र राधादेवीले समाजमा विद्यमान जातीय विभेद र छुवाछुत अन्त्य गर्न अन्तरजातीय विवाह गरेर उदाहरणीय काम गरेकोले उनीहरुलाई घर फर्काउन सबैले पहल गर्नुपर्ने बताउनुभयो ।