सोम दियाली, लालबन्दी ।। कवि तथा गीतकार डा.नवराज लम्सालको ‘अग्नि’ महाकाव्यले ५० हजार राशिको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०७९’ प्राप्त गरेको छ ।
परिषदले शनिवार लालबन्दीस्थित जनज्योती बहुमुखि क्याम्पसमा एक विशेष समारोहको आयोजना गरी मदन पुरस्कारसहित झण्डै आधा दर्जन पुरस्कार पाएको ‘अग्नि’का लागि डा. लम्साललाई दोसल्ला ओढाई नगदसहित सम्मान गरेको छ ।
स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट डा. नवराज लम्सालकृत ‘अग्नि’ महाकाव्यलाई पुरस्कारका लागि छनौट गरेको थियो ।
सम्मान ग्रहण गर्नुहुँदै रेडियो नेपालका महानिर्देशक समेत रहनुभएका डा. लम्सालले पुरस्कारका लागि ‘अग्नि’लाई योग्य ठहर गरी पुरस्कृत गरेको भन्दै परिषदलाई धन्यवाद दिनुभयो । त्यस्तै उहाँले आफुले सन्तुष्टिका लागि लेखेको भएपनि आफ्ना अनुभव र भोगाईले पुरस्कार पाउँदा खुशि लागेको बताउनुभयो । उहाँले यो पुरस्कारले आफूमा थप जिम्मेवारी बढेको बोध भएको बताउनुभयो ।
त्यसैगरी परिषदले प्रदान गरेको स्थानीय प्रतिभा सम्मानबाट पत्रकार क्षितिज विश्वकर्मा सम्मानित भएका छन् । पत्रकारिताबाट साहित्यमा दिएको योगदानको कदर गर्दै उनलाई नगद १० हजारसहित सम्मान पत्रबाट सम्मानित गरिएको हो ।
त्यसैगरी, सर्लाही गौरव सम्मानबाट वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी र गजल सारथी सम्मानबाट गजलकार घनेन्द्र ओझालाई सम्मान गरिएको आयोजक लालबन्दी नगर वाङ्मय परिषद्ले जनाएको छ ।
स्रष्टाहरूलाई लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. जगतप्रसाद उपाध्याय, भाषा आयोगका सदस्य गोपाल अस्कर, नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल, प्राज्ञ सभा सदस्य शशी लुलुम्बु लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतले सम्मान गरेका हुन । त्यसैगरी, कार्यक्रममा जिल्लाको साहित्य क्षेत्रमा योगदान पुर्याउने अन्य व्यक्तिहरुलाई पनि प्रसंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
सो अबसरमा परिषदले प्रकाशन गरेको साहित्यकार परिचय तथा स्वतन्त्र रचना नामक पुस्तकको समेत विमोचन भएको छ । पुरस्कार समर्पण तथा विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै लालबन्दी नगरपालिकाका प्रमुख तथा लालबन्दी नगर वाङमय परिषदका प्रमुख संरक्षक बासुदेव अधिकारीले नेपाल प्रथप साँस्कृतिक कृष्णलाल अधिकारीको नाममा पुरस्कारको स्थापना गर्ने बताउनुभएको छ । उहाँले भाषा, साहित्यको जगेर्नाका लागि त्यसका स्रष्टाहरुको प्रोत्साहनमा वाङमय परिषदले काम गरिरहेको बताउनुहुँदै त्यसलाई थप ऊर्जा प्रदान गर्न सांस्कृतिक सहिद अधिकारीको नाममा समेत पुरस्कार स्थापना गर्ने बताउनुभयो । कार्यक्रमलाई वरिष्ठ गीतकार दिनेश अधिकारीले समेत सम्बोधन गर्नुभएको थियो । उहाँले सम्मानित स्रष्टाहरुलाई बधाई दिनुहुँदै लालबन्दी वाङ्मय परिषदले गरेको यो प्रयास भाषा र साहित्यको उत्थानमा राम्रो सुरुवात भएको बताउनुभयो ।
स्थापित र वरिष्ठ गजलकार, कवि तथा साहित्यकार कवि विवश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रम लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीकाे सभापतित्वमा भएको थियो । सचिव सुमन घिमिरे “अग्रिम” ले स्वागत मन्तव्य
राख्नु भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य बेची लुंगेलीसहित विभिन्न दलका नेतागणहरु, पत्रकारहरु, साहित्यमा रुची राख्ने महानुभावहरुको उपस्थिति रहेको थियो ।