अम्बिका बुढाथोकी लालबन्दी ।।
भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी सनातन धर्मावलम्बी महिलाको विशेष पर्व । सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ ।
महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन् ।
यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ । सप्तर्षिमा कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ पर्र्दछन । यस्तै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ ।
सप्तर्षिको पूजा गर्दा मौसमी फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ । विधिपूर्व सप्तर्षिको पूजा गर्नाले रजस्वला भएका वेलाका दोष नाश हुन्छन् भन्ने मान्यता छ । ऋषिपञ्चमी व्रतकथामा भने यो व्रत महिलाले मात्र नभई पुरुषले गर्नुपर्ने बताइएको छ । पतिपत्नी दुवै मिलेर सात वर्षसम्म लगातार व्रत बसी उद्यापन गर्ने विधान छ ।
पूजा सकी महिलाहरू कर्कलाको तरकारीसँग भोजन गर्छन । ऋषिपञ्चमी व्रतकथामा पनि आज विशेषगरी नजोती, नखनी फलेका कन्दमूल खानुपर्ने बताइएको छ ।