भाईरल पोष्ट, मोरङ्ग ।। नाडेप लघुवित्त वित्तिय संस्थाले आफ्ना ब्रान्च मेनेजरहरुका लागि दुई दिने तालिम दिएको छ ।
नेपालका थुप्रै लघुवित्त वित्तिय संस्थाहरुमध्ये टपटेनमा पर्न सफल नाडेपले मोरङ्गको लेटाङ्गमा झापादेखि रौतहट सम्मका ब्रान्च मेनेजरहरुलाई १२ र १३ गते दुई दिनसम्म तालिम दिएको हो ।
नेपालमा लघुवित्तको वर्तमान अवस्था र लघुवित्तको कारण विपन्न वर्गमा आएको आर्थिक सुधारका विषयमा तालिममा छलफल भएको थियो । देशकै गरिबी निवारणमा उल्लेख्य भूमिका खेलेका लघुवित्तले आगामी दिनमा विपन्न समुदायको आर्थिक अवस्थामा सुधार गर्न थप के के गर्न सक्छ भनेर तालिममा घनीभूत रुपमा छलफल भएको तालिम आयोजकले जनाएको छ ।
नाडेपका डिसिओ शिवप्रसाद आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको तालिममा ३० वर्ष कृषि विकास बैंकमा काम गरेको अनुभव संगाल्नु भएका बरिष्ठ बैंकर्स घुरन ठाकुर, बैंकिङ क्षेत्रका जानकार गणेश विष्ट, तालिमका सहजकर्ता रामनाथ भण्डारीले झापादेखि रौतहटसम्मका तालिममा सहभागि २८ जना ब्रान्च मेनेजरहरुलाई तालिम दिनुभएको थियो ।
तालिमका क्रममा डिसिओ शिव प्रसाद आचार्यले नेपालमा लघुवित्तको पूरानो अवस्था के थियो ? अहिलेको अवस्था कस्तो छ ? लघुवित्तमा पारदर्शिता र दूरगामी योजनाहरु कस्ता छन् भनेर जानकारी दिनुभएको थियो ।
तालिमको संयोजन गुणराज पोखरेल र जय प्रसाद गेलालले गर्नुुभएको थियो भने जोनु खतिवडा र केदारमणि पोखरेलले मूल्यांकन गर्नुभएको थियो ।
त्यस्तै गोवद्र्धन आचार्य र रन्जित कुमार यादवले तालिमको प्रतिवेदन तयार गर्नुभएको थियो । तालिम अवधिमा २/२ घण्टामा गायक सन्तोष दाहालले सहभागिहरुलाई गीत र बाँसुरीबाट भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
नेपालमा हाल ६२ लाख भन्दाबढी घरधुरीबाट ५८ लाख ५९ हजार ५३० जना व्यक्तिहरु लघुवित्तमा आवद्ध छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालमा सबै लघुवित्तको गरी १ खर्ब ५४ अर्ब ६२ करोड ७० लाख बचत रहेको छ भने ४ खर्व ४९ अर्ब ६८ करोड ६० लाख रुपैया लगानी गरेका छन् ।