भाईरल पोष्ट, लालबन्दी ।। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज सर्लाहीसहित देशभरका वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।
तीजको अघिल्लो दिन दर खाने चलन छ । तीजमा विशेषगरी माईतीहरुले चेलीबेटीलाई बोलाएर दरको रुपमा मिठो चोखो खुवाउने चलन छ । सर्लाहीमा पनि ब्रतालु महिलाहरुले हिजो साँझै दर खाएका छन् । तीजकै अवसरमा आज विभिन्न धार्मिक स्थलहरुमा ब्रतालु महिला दिदीबहिनीहरुको जमघट हुने गर्दछ । तीज पर्वलाई विवाहित महिलाले पतिको दीर्घायू र अविवाहितहरुले सुयोग्य पति पाउनका लागि ब्रत बस्ने गरिएको भनिएपनि महिला दिदीबहिनीहरुको तमाम दुःख विर्साने पर्वको रुपमा समेत यो पर्वलाई लिने गरिएको छ ।
महिलादिदीबहिनीहरु एकआपसमा भेटघाट गर्ने र सबै दुःख पिर विर्सेर रमाईलो गर्ने चाडको रुपमा तीजलाई लिईन्छ । तीजमा महिला दिदीबहिनीहरु रातो साडी, रातै चोली र झपक्क गरगहनामा सजिने गरेका छन् । आज जिल्लाका प्रसिद्ध शिव मन्दिरहरु लालबन्दीमा डुमडुमे, जल्केश्वर, सिद्धेश्वर, हरिवनमा चर्तुभुजेश्वर, कैलाशपुरी महादेव मन्दिर, बरहथवामा मुक्तेश्वर मन्दिर, बामगतीमा नूनथर महादेव मन्दिर, ईश्वरपुरमा सागरनाथ महादेव मन्दिरसहित जिल्लाका अन्य शिवमन्दिरहरुमा ब्रतालु महिलाहरुलाई नाचगान गरिरहेको देख्न सकिनेछ । ती स्थानहरुमा मेला समेत लाग्ने गरेको छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाउनुभएको थियो । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्ना साथीलाई आफ्नो समस्या सुनाउनुभएको थियो ।
सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उहाँका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गर्नुभयो ।
यसरी माता पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाउनुभएकोले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा समस्त हिन्दु महिला दिदीबहिनीहरु व्रत बस्ने गरेका गर्दछन् । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम हुन्छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम उनी ज्योतिषहरुले बताएका छन् ।
स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने ज्योतिषहरुको भनाई छ ।