भाईरल पोष्ट, लालबन्दी ।। लागू पदार्थ दुव्र्यसनी अहिले नेपाली समाजको टाउको दुखाईको विषय बनेको छ । विभिन्न कारणले विद्यालयका उमेरका किशोर किशोरीहरु पनि लागू पदार्थ दुव्र्यसनको सिकार भईरहेका छन् ।
पछिल्लो समय सर्लाहीको लालबन्दीमा पनि धेरै किशोर किशोरीहरु लागूपदार्थ दुव्र्यसनीमा फस्दै गएको देखिन्छ । यहाँका चोक चौतारा, पुलपुलेसा, विद्यालय, क्लव घर, खोलाको छेउ, पार्क तथा गल्ली गल्लीमा समुहमा जम्मा भएर लागूपदार्थ प्रयोग गर्ने जमात बढ्दै गएपछि अभिभावकहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।
भविष्यका कर्णधारहरु नै दुव्र्यसनीमा फसे त्यसको नतिजा भयंकर हुने भन्दै यहाँका अभिभावक र नागरीक समाजले चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले दुव्र्यसनको न्यूनिकरणका लागि पर्याप्त सचेतनामूलक कार्यक्रमको आवश्यकता भईसकेको बताइएरहेका छन् ।
यसै क्रममा ईलाका प्रहरी कार्यालय लालबन्दीले लागू पदार्थ दुव्र्यसनको न्यूनिकरणका लागि विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएको छ । प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यहाँका विभिन्न विद्यालयहरुमा सचेतनामूलक कार्यक्रमको आयोजना गरि किशोर किशोरीहरुलाई लागूपदार्थको प्रयोगबाट हुने नकरात्मक प्रभावका बारेमा जानकारी दिई रहेको छ ।
यसैक्रमममा सोमबार लालबन्दी नगरपालिकाको वडा नम्बर १७ मा पनि प्रहरीले लागू पदार्थ दुव्र्यसनी ओसार पसार तथा सजाय सम्बन्धी जनचेतामूलक कक्षा नै सञ्चालन गरेको छ । त्यहाँ स्थित फौदसिंह जनता माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत किशोर किशोरीहरुलाई लागू पदार्थ दुव्यसनीको बारेमा कक्षा गराइएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक शान्ता राम कार्कीले जानकारी दिनुभयो ।
उहाँले लागूपदार्थ दुव्र्यन न्यूनिकरणका लागि प्रहरीले सक्दो प्रयास गरिरहेकोले समुदायले पनि आ–आफ्नो स्थानबाट सहयोगी भुमिका खेलिदिन आग्रह गर्नुभयो ।