भाईरल पोष्ट, बयलवास ।। जनता समाजवादी पार्टी नेपाल जसपाको क्षेत्रीय विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सर्लाहीको बयलवासमा सम्पन्न भएको छ ।
जसपा नेता एवम् ईश्वरपुर ५ का वडाअध्यक्ष पंची महतोको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका नेता प्रमोद साहको प्रमुख आतिथ्यतामा बयलवासस्थित उद्योग वाणिज्य संघको सभाहलमा विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
बैठकले क्षेत्रीय कार्यसमिति तथा प्रदेश क्षेत्रीय कार्यसमितिलाई पूर्णता दिएको छ । वैठकले रामनरेश साहको अध्यक्षतामा ५१ सदस्यीय क्षेत्रीय कमिटी तथा प्रदेश क मा रामचन्द्र महतो र ख मा बीर बहादुर बोम्जन(विवेक)को अध्यक्षतामा ३१÷३१ सदस्यीय प्रदेश क्षेत्रीय कार्यसमितिलाई पूर्णता दिएको छ ।
बैठकले क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीमा अध्यक्षमा साहसहित बरिष्ठ उपाध्यक्षमा रामबाबु यादव, पुरुष उपाध्यक्षमा रामविर महतो, रामचन्द्र साह र महिला उपाध्यक्षमा पर्मिला स्याङतानलाई चयन चयन गरेको छ । त्यस्तै क्षेत्रीय कमिटितर्फको सचिवमा अनिल कुमार यादव र सह–सचिव सुनिल कुमार साह(भान्जा) चयन हुनुभएको सो पार्टीका नेता ईन्द्र बल तामाङले जानकारी दिनुभयो ।
नेता तामाङका अनुसार भेलाकै अवसरमा एकसय जनाभन्दा बढी लोसपाका नेता कार्यकर्ता लोसपा परित्याग गरी जसपामा प्रवेश गरेका छन् । नव प्रवेशीहरुमा लोसपाका लालबन्दी नगर इन्चार्ज तथा मेयरका प्रत्यासी सुनिल कुमार साह(भान्जा) समेत रहनुभएको छ ।
जसपा फुट्ने क्रममा लोसपामा लाग्नुभएका भान्जासहित एकसय जनाभन्दा बढी नेता कार्यकर्ता भान्जाकै नेतृत्वमा जसपा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई भेलाका प्रमुख अतिथी सो पार्टीका नेता तथा सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद प्रमोद साह, केन्द्रीय सदस्य बम बहादुर मोक्तान, केन्द्रीय सदस्य संजय पासवान, प्रदेश कमिटी सदस्य केशव न्यौपाने लगायतले अबिर टीका लगाई जसपामा स्वागत गर्नुभएको थियो ।
विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी एवम् प्रतिनिधि सभा सदस्य प्रमोद साहले नवगठित क्षेत्रीय तथा प्रदेश क्षेत्र कमिटीका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले मंसीर ४ गते हुने संघ र प्रदेशको चुनावमा जसपालाई जिताउने गतिविधिमा लाग्न निर्देशन दिनुभयो ।
जसपा पाँच दलीय गठबन्धनको एउटा घटक हो । केन्द्रीय गठबन्धनमा सिट बाँडफाँड हुँदा सर्लाहीको क्षेत्र नम्बर १ जसपाकै भागमा पर्ने प्रवल सम्भावना रहेको छ । सांसद साहले गठबन्धनको मापदण्डअनुसार सर्लाहीको क्षेत्र नम्बर १ जसपाले पाउने निश्चित भएको बताउनुभयो ।
‘भागबण्डामा यो क्षेत्र हामीले पाउने कुरा छ, त्यसैले अहिलेदेखि नै चुनावी अभियानमा लाग्न म नेता कार्यकर्तालाई अनुरोध गर्दछु ।,’ सांसद साहले भन्नुभयो ।