भाईरल पोष्ट, लालबन्दी ।। जिल्लास्थित सामुदायिक विद्यालयहरु एकसाताका लागि बन्द भएका छन् ।
नेपाल सरकारले विद्यालय कर्मचारीहरु माथि गरेको अन्यायको विरुद्ध र उनीहरुको पेशागत हकहितकको संरक्षणका लागि आवाज उठाउँदै नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्यसमिति सर्लाहीले एक सूचना जारी गर्दै १२ गतेदेखि १८ गतेसम्म एकसाताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
परिषदका जिल्ला अध्यक्ष नारायण प्रसाद यादवले जारी गर्नुभएको विज्ञप्तीमा संघमा आवद्ध नेपाल शिक्षक महासंघका अध्यक्ष नरेन्द्र प्रसाद यादव, नेपाल शिक्षक संघका अध्यक्ष यमनाथ उप्रेती, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष भरत महतो, समाजवादी शिक्षक फोरमका अध्यक्ष रामबाबु राय र एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष रामविलास रायले संयुक्त रुपमा ऐक्यवद्धता जनाउनुभएको छ ।
एकसाता विद्यालय बन्द गरि आन्दोलनमा उत्रिएका परिषदमा आवद्ध शिक्षकहरुले जिल्लाका सम्पूर्ण राजनीतिकर्मी, विद्यालय व्यवस्थापन समिति, सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, संघसंगठन, पत्रकार र सुरक्षाकर्मी सबैमा आन्दोलनमा सहयोग गर्न अनुरोध समेत गरेको छ ।
यसैबीच परिषदको उक्त निर्णय प्रति जिल्लाका विभिन्न पालिकाका शिक्षक महासंघ तथा संगठनहरुले समेत प्रतिबद्धता जनाएका छन् । उनीहरुले परिषदको निर्णयमा समर्थनसहित ऐक्यवद्धता जाहेर गर्दै सूचनाहरु जारी गरिरहेका छन् ।
जिल्लास्थित चन्द्रनगर गाउँपालिकाको शिक्षक महासंघले पनि परिषदको निर्णयमा ऐक्यवद्धता जनाएको छ । शिक्षक महासंघ चन्द्रनगरका अध्यक्ष सरोज कुमार सिंहले एक सूचना जारी गर्नुहुँदै परिषदको निर्णयमा ऐक्यवद्धता जनाउनुभएको हो ।