भाईरल पोष्ट, लालबन्दी ।। पछिल्लो समय बैंक तथा वित्तीय संस्था मात्र होइन बीमा कम्पनीसँगै सहकारीहरु पनि मर्ज भएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पाँचवटा सहकारी संस्थाहरू मर्जमा गएका छन् ।
काठमाडौँमा सञ्चालित आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाबीच मर्जरको सम्झौता भएको हो ।
मर्जरको सम्झौता गरेका सहकारीहरुले १ महिनाभित्र वार्षिक साधारण सभा गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारणसभा गर्ने भएका छन् ।
उक्त कार्यक्रम राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा बोल्नुहुँदै कडेलले नगरपालिकाभित्रका वित्तिय सहकारी कारोबार गर्ने सहकारीको दर्ता बन्द गर्नुपर्ने बताउनुभयो । साथै उहाँले अन्य संस्थाहरुले पनि मर्जरको अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
यता सर्लाही जिल्लामा पनि सहकारी संस्थाहरुले मर्जरको तयारी थालेका छन् । जिल्लामा सहकारी सस्था एकीकरण गर्न बनेको कार्यदलको बैठक सुर्योदय साकोस बागमती नगरपालिकामा सम्पन्न भएको छ ।
बैठकले भाद्र महिना १६ र १७ गते जिल्लाको तीन विभिन्न स्थानमा एकीकरण अभिमुखिकरण कार्यक्रम सम्पन्न गर्ने, ठुला संस्थाहरुको समेत एकीकरण (बिग मर्च) गर्ने, महिलाद्वारा सन्चालित संस्थाहरुको अलग्गै एकिकरणमा समेत जोडदार रुपमा काम गर्ने निर्णय गरेको सगुन सहकारीका अध्यक्ष केशव ढकालले जानकारी दिनुभयो ।