राज कुमार मोक्तान, बलरा ।। सर्लाहीको बलरामा नेकपा माओवादी केन्द्रको वृहद आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
सो पार्टीका बलरा नगर अध्यक्ष रामबाबु दासको अध्यक्षता तथा संविधानसभा सदस्य शिवपुजन रायको प्रमुख आतिथ्यतामा बलरा नगरपालिका ११ स्थित छटौनामा आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
सभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व उपत्यका इन्जार्ज सुजन यादव(श्रीचन), सोही पार्टीका नेता एवम् बलरा नगरपालिकाका प्रमुख रामाशंकर कुशवाहा, वडा नम्बर ११ का वडाअध्यक्ष सुखलाल सहनीको विशिष्ट आतिथ्यता रहेको थियो ।
सो अवसरमा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षका प्रत्यासी रहेका शिवप्रसाद सहनीसहित एक दर्जन एमाले नेता कार्यकर्ता नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई प्रमुख अतिथी शिवपुजन यादव, विशिष्ट अतिथी सुजन यादव(श्रीचन), नगर प्रमुख रामाशंकर कुशवाहा, वडा अध्यक्ष सुखलाल सहनी लगायतले अबीर तथा खादा लगाई माओवादी केन्द्रमा स्वागत गर्नुभएको थियो ।
वृहद आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी संविधानसभा सदस्य शिवपुजन यादवले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रका उमेदवारहरुलाई विजयी बनाउन आम क्षेत्र नम्बर ४ वासीलाई आग्रह गर्नुभयो । ४ नम्बर क्षेत्रका जनता मालिक र पूँजीपतिहरुको चपेटामा परेको बताउनुहुँदै संविधानसभा सदस्य यादवले जनतालाई स्वतन्त्र बनाउने काम माओवादी केन्द्रले नै गरेकोले माओवादी केन्द्रलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
त्यस्तै आगामी मंसीर ४ गते हुने निर्वाचनमा क्षेत्र नम्बर ४(ख)का प्रत्यासी उमेदवार समेत रहनुभएका विशिष्ट अतिथी सुजन यादव(श्रीचन)ले अब साहू महाजनहरुको गुलामी गर्ने दिन सकिएको बताउनुभयो । यहाँका पूँजीपतिहरुले यहाँका जनतालाई आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक सबैखाले अधिकारबाट बञ्चित गराएर शासन गर्न चाहान्थे तर अब यहाँका जनतामा चेत पलाई सकेको छ । गरीबमाराहरुको चाल बुझेका जनताले बलरा नगरपालिका र रामनगर गाउँपालिकामा माओवादी केन्द्रलाई जिताएर परिवर्तनको सुरुवात गरिसकेको नेता श्रीचनले बताउनुभयो । ‘अरु नेता भएभने हामी पदमा पुग्न सक्दैनौं र हामीले शासन गर्न पाउँदैनौं भन्ने संकुचित सोचका कारण यहाँका दलाल पूँजिपतिहरुले जनतालाई गुमराहमै राखेका थिए । तर हामीले स्थानीय चुनावको समयमा घरघर गएर हाम्रो पार्टीको विचार फैलायौं । हामीले निरंकुश र तानाशाह विरुद्ध बोल्न हिम्मत भरेपछि यहाँका जनता साहसी हुनुभएको छ ।’ नेता यादवले भन्नुभयो, ‘हेर्दै जानुस हामी ४ नम्बर क्षेत्रलाई माओवादी केन्द्रको हेडक्वाटर बनाउने गरी सक्षम नेताहरु उत्पादन गर्नेछौं ।’
त्यस्तै विशिष्ट अतिथी बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले जनतालाई हक अधिकार दिलाउन जस्तोसुकै आन्दोलन गर्न पनि आफूहरु तयार रहेको बताउनुभयो । ‘मलाई पहिले चुनाव जितेर देखा भनेर च्यालेन्ज गर्थे, अहिले ५ वर्ष चलाएर देखा भन्ने च्यालेन्ज छ ।’ मेयर कुशवाहाले भन्नुभयो ।
बलराका जनताको साथ र आशिर्वाद रहेसम्म आफूले शिक्षा, स्वास्थ्य र कृषिमा आमूल परिवर्तन गरेर देखाउने बताउनुभयो । उहाँले यसअघिका जनप्रतिनिधिहरुले जनताका छोराछोरीले पढ्न पाएभने आफूहरुको शासन सकिन्छ भन्ने सोचेकोले नै बलरामा शिक्षाको अवस्थामा सुधार आउन नसकेको बताउनुभयो । उहाँले नगरका प्रायः सबै सामुदायिक विद्यालयको अवस्था नाजुक रहेकोले आफूले ती सबै विद्यालयलाई नमूना बनाउने बताउनुभयो । त्यस्तै उहाँले यहाँका जनतका स्वास्थ्य जाँचका लागि छिट्टै नै एमविविएस डाक्टरको व्यवस्था गर्न लागेको बताउनुभयो । त्यस्तै कृषि क्षेत्रमा पनि आफूले घनीभूत योजना बनाएर काम गर्ने बताउनुभयो ।
वृहद आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी नेताहरु दिनेश कुशवाहा, नन्दकिशोर यादव, राजेश मण्डल, रामसोगारथ महतो लगायतले सम्बोधन गर्नुभएको थियो ।