भाईरल पोष्ट, गोडैता ।। जिल्लाको दक्षिण पश्चिमको व्यापारिक केन्द्र मानिएको सर्लाहीको गोडैतामा दिनदहाडै एक मनिट्रन्सफर लुटिएको छ ।
गोडैता नगरपालिका वडा नम्बर ८ सिसौटिया रोडमामा रहेको लालिगुराँस बहुउदेश्यीय कृषि सहकारी संस्थाले सञ्चालन गरेकोे सिटी एक्सप्रेस मनि ट्रान्सफर हिजो बिहान १० बजेको समयमा लुटिएको हो ।
हतियार बोकेर आएका ४ जना अज्ञात व्यक्तिको समुहले हतियार देखाउँदै ९ लाख ५० हजार नगद र एक लाख बराबरको मोवाइल, ल्यापटप गरी झण्डै १० लाख ५० हजार बराबर लुटेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हतियारधारी समुहले कालो रंगको एपाचे मोटरसाइकलमा नकाव लगाएर आएका स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
लुटेराहरुले वडा नम्बर २ बस्ने ५४ वर्षिय मोहमद तसलिमको ३० हजार मुल्य बराबरको मोबाइल, वडा नम्बर १ बस्ने सेवाग्राही ७३ वर्षिय वृद्ध जगतलालको २० हजार मुल्य पर्ने मोबाइल र मनिट्रान्सफरका एक जना कर्मचारीको मोबाइल लुटी लगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।
घटना भएको स्थान बाट करिब ५ सय मिटर पर प्रहरी चौकी भएपनि प्रहरीहरु उपस्थित नहुँदा सिटीएक्सप्रेस मनिट्रान्सफर लुटिएको स्थानीयले बताएका छन् । दिनदहाडै मनिट्रान्सफर लुटिएपछि गोडैता क्षेत्रका व्यापारीहरु त्रसित बनेका छन् । सिमासँग जोडिएको नगरपालिका र व्यपारीक केन्द्र रहेको गोडैतामा ईलाका प्रहरी कार्यालय नहुँदा यस्तो घटना भएको गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र रायले बताउनुभयो ।
आफुले पटक पटक प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र नेपाल प्रहरीका एसपी प्रविण पोखरेललाई गोडैतामा ईलाका प्रहरी कार्यालयको स्थापना गर्न अनुरोध गरेपनि उहाहरुले चासो नदिदाँे घटना घटेको गोडैता नगरपालिका नगर प्रमुख रायले आरोप लगाउनुभयो ।