भाईरल पोष्ट, मलंगवा ।। नेपाली काँग्रेसले देशव्यापी सुरु गरेको ‘जनताको माझमा काँग्रेस’ अभियान सर्लाहीमा पनि शुक्रबारबाट सुरु भएको छ ।
सदरमुकाम मलंगवास्थित कुशुम पार्टी प्यालेशमा एक भव्य कार्यक्रमको आयोजना गरी उसले जिल्लामा पनि सो अभियान शुभारम्भ गरेको हो ।
अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश नेताहरुले आगामी मंसीर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनमा सर्लाहीमा काँग्रेसले बढीभन्दा बढी सिट पाउनुपर्ने बताउनुभएको छ ।
सर्लाही जिल्लालाई नेपाली काँग्रेसको गढ रहेको दाबी गर्नुहुँदै नेताहरुले स्थानीय तह निर्वाचनमा जिल्लाका १२ पालिकामा काँग्रेस विजयी भएकोले स्थानीय तह निर्वाचनमा प्राप्त मतकै आधारमा गठबन्धनमा सिट बाँडफाँड हुनुपर्ने माग गरेका हुन् ।
उहाँलहरुले बलियोसँग कमजोरले गठबन्धन गर्ने भन्नुहुँदै काँग्रेस आफैमा बलियो हुँदाहँुँदै गठबन्धनको नाममा यहाँ फरक पार्टीलाई मतहाल्न नसकिने बताउनुभयो । स्थानीय तहमा पाएको मत र जितेको पालिका संख्याको आधारमा पनि जनताले काँग्रेसलाई बढी भरोसा गरेको स्पष्ट भएको छ । त्यसैले सर्लाहीमा ३ ओटा क्षेत्र काँग्रेसले पाउनुपर्दछ ।
‘गबन्धन गर्नु राम्रो हो । केन्द्रीय निर्णयको हामी स्वागत र सम्मान नै गर्छौं तर हामी बलियो भएको ठाउँमा अरुलाई सिट दिए त्यहाँ विद्रोह हुन्छ । हामी अरु पार्टीलाई भोट हाल्न तयार हुँदैनौं ।’, एक नेताले भन्नुभयो ।
त्यस्तै शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै क्षेत्रीय सभापतिहरुले गठबन्धनमा सिट बाँडफाड गर्दा सर्लाही काँग्रेसलाई अन्याय हुन नहुने बताउनुभयो । उहाँहरुले स्थानीय तह निर्वाचनका क्रममा पनि पार्टी नेतृत्वले मनपरी ढंगले टिकट वितरण गरेको आरोप लगाउनुहुँदै संघ र प्रदेश निर्वाचनमा त्यस्तो गल्ती नगर्न चेतावनी दिनुभयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्का एक नेताले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनकै लागि भएपनि अहिलेको गठबन्धन आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीमा भएका कमीकमजोरीलाई सच्याउन सकिने भन्दै आलोचनाका नाममा अराजक नबन्न क्षेत्रीय सभापतिहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै मधेश प्रदेश समिति सदस्य अर्का एक नेताले पनि मधेश प्रदेशमा नेपाली काँग्रेस आफैमा बलियो भएकोले यहाँ गठबन्धन आवश्यक नभएको तर केन्द्रले गरेको निर्णय अनुसार नै प्रदेश र जिल्ला समेत अघि बढ्नु पर्ने बताउनुभयो ।
शुभारम्भ कार्यक्रम सदरमुकाम मलंगवास्थित कुशुम पार्टी प्यालेसमा जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको अध्यक्षता तथा केन्द्रीय सदस्य दिनेश कुमार रायको प्रमुख आतिथ्यतामा भएको थियो ।
अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी केन्द्रीय सदस्य यादवले अभियानको बारेमा जानकारी गराउनुभयो । उहाँले पहिलो चरणको अभियान भाद्र १० गतेदेखि २४ गते विपी जन्मजयन्तीका दिनसम्म चल्नेछ । त्यस्तै दोश्रो चरणको अभियान समानुपातिक उमेदवारी दर्ता पछि र तेश्रो चरणको अभियान प्रत्यक्षतर्फको उमेदवारी दर्तापछि चल्नेछ ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय सदस्य यादवले अभियानको चार उद्देश्यका बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले अभियानका क्रममा मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने ।, जनताको घर–आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने रहेको बताउनुभयो ।
त्यस्तै उहाँले कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने र निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने बताउनुभयो ।
काँग्रेस सर्लाहीका सचिव निरज कार्कीले सञ्चलन गर्नुभएको शुभारम्भ कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापतिहर हरि लुंगेली, कौशलकिशोर राय, पूण्यप्रसाद घिमिरे, कौडेना गाउँपालिका अध्यक्ष रुपेश कुमार, कविलासी नगरपलिकाकी उपप्रमुख पुनम कर्ण, मधेश प्रदेश समिति सदस्य रामबाबु साह, प्रदेश उपसभापति एवम् मन्त्री विरेन्द्र सिंह, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पूर्व सांसद जंगीलाल राय, संविधान सभासदस्य रामचन्द्र चौधरी लगायतले सम्बोधन गर्नुभएको थियो भने विभिन्न तह तप्काका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।