भाईरल पोष्ट, धनुषा ।। आगामी मंसीरमा हुने संघ र प्रदेशको निर्वाचनलाई लिएर बहुजन एकता पार्टी नेपालले आफ्नो संगठन विस्तार र प्रशिक्षणका कार्यक्रमलाई तिब्र बनाएको छ ।
छिमेकी देश भारतका महान दार्शनिक एवम् संविधान निर्माता विश्वभरका दलितहरुको आर्दशमहापुरुष डा. भिमराव अम्बेडकरको विचारधारालाई पछ्याउँदै नेपाली समाजमा बहुजन समुदायको शासन स्थापनामा गर्ने उदेश्यका साथ निर्वाचन आयोग नेपालमा दर्ता भएको सो पार्टीले निरन्तर रुपमा प्रशिक्षण भेला र संगठन विस्तारलाई तिब्रता दिएको हो ।
यसैक्रममा प्रदेश २ को राजधानी समेत रहेको धनुषा जिल्लाका विभिन्न पालिकाहरुमा सो पार्टीले आफ्ना कार्यक्रमहरु केन्द्रित गरिरहेको छ । सो क्रममा धनुषामा यो पार्टी लोकप्रिय समेत बन्न सफल भएको छ । जिल्लाका अधिकांश पालिकाहरुमा प्रशिक्षण भेला र संगठन निर्माण गर्दै अघि बढेको सो पार्टीले बिहीबार एकै दिन मिथिला बिहारी नगरपालिकाको तीन ठाउँमा प्रशिक्षण भेला तथा संगठन विस्तारको कार्यक्रम गरेको सो पार्टीका केन्द्रीय सह–महासचिव दुर्गाराम विश्वकर्माले जानकारी दिनुभयो ।
सो नगरपालिकाका पुरन्दाहा बजार टोलको दुई ठाउँमा र सोही नगरपालिकाको रमौल भन्ने गाउँमा पार्टीको संगठन निर्माण, विस्तार एवम् सुदृढीकरण अभियान अन्तर्गत प्रशिक्षण भेला सम्पन्न भएको सह–महासचिव विश्वकर्माले जानकारी दिनुभयो ।
ती तिनै स्थानमा भएको कार्यक्रममा बहुजन एकता पार्टीका बरिष्ठ नेता तथा राष्ट्रिय संगठन प्रभारी राजाराम पासवान, सह–महासचिव दुर्गाराम विश्वकर्मा, महिला नेत्री प्रमिला सदा, बुधनी राम, सन्जिब महरा, शिव रत्न महरा, राम लखन राम लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
प्रशिक्षण भेलाका क्रममा सो नगरपालिकाको वडा नम्बर ४ मा वाड कमिटी गठन गरिएको छ । समितीको अध्यक्षमा समाजसेवी विश्वनाथ राम, उपाध्यक्षमा रितादेबि महरा, कोषाध्यक्षमा जगदिला महरा, सचिबमा शान्ति देबि राम र सदस्यमा बिजली महरा लगायत सर्वसम्मत चयन गरिएको छ ।
नव गठित समितीलाई बधाई दिनुहुँदै कार्यक्रमका प्रमुख अतिथी एवं पार्टीका राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानले गरिब समाजको हितमा बहुजन एकता पार्टीले नयाँ भुमी ब्यबस्थापन सम्बन्धि काम गरि सरकारमा हिस्सेदार बनेको खण्डमा दलित आदिवासी एवं गरिब भुमीहीनलाई पर्याप्त भुमी बितरण गर्ने बताउनुभयो । मानसम्मान एवं प्रतिष्ठाको लडाइ बहुजन एकता पार्टीले लडिरहेको हुँदा तमाम बहुजन समाजले पार्टीलाई तनमन धनले सहयोग गर्नुपर्ने धारणा व्यक्त उहाँले राख्नुभएको थियो ।