भाईरल पोष्ट, हरिपुर ।। सर्लाहीको हरिपुर नगरपालिकामा कार्यरत निजामती कर्मचारीहरु आन्दोलित बनेका छन् । नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियन हरिपुर संयुक्त रुपमा विभिन्न माग राख्दै नेपाल सरकार विरुद्ध आन्दोलित बनेका हुन् ।
‘देशभरीका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी एक होऔं’ भन्ने नारासहित विभिन्न माग राख्दै हरिपुरका निजामती कर्मचारीहरु आन्दोलित बनेको हरिपुर नगरपालिकामा कार्यरत अधिकृत छैंठौं विनय पौडेलले जानकारी दिनुभयो ।
निजामती कर्मचारी आवद्ध रहेको संयुक्त ट्रेड युनिय सञ्जाल मार्फत कर्मचारी मैत्री र सेवा मैत्री हुने गरी संघीय÷प्रदेश र स्थानिय तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर, क्षतिपुर्तीसहितको नागरीक सेवा प्रवाहको सुनिश्चितता गर, तिनै तहमा कार्यरत कर्मचारीहरुलाई निजामतीको परिभाषामा समावेश गर, तिनै तहमा कायम हुने गरी तहगत प्रणाली लागु गर, तिनै तहमा अन्तरसमबन्ध कायम हुने सुनिश्चिततासहित राष्ट्रिय स्तरको ट्रेड युनियनको व्यवस्था गर लगायतको माग गर्दै कर्मचारीहरु धर्नामा बसेका हुन् ।
त्यस्तै धर्नामा बसेका कर्मचारीहरुले कर्मचारी समायोजनबाट उत्पन्न समस्या तत्काल समाधान गर, राष्ट्रिय स्तरका ट्रेड युनियनहरुको सहभागिता सहित पे–कमिशन गठन गर, तिनै तहमा कार्यरत कर्मचारीहरुको समान अवधीमा वृत्ति विकासको सुनिश्चितता गर, अस्थायी, करार, ज्यालादारी कर्मचारीहरुको न्यायोचित व्यवस्थापन गर, सबै पदका कर्मचारीहरुको पदसोपान अनुसार तलबमान कायम गर, संघ, प्रदेश र स्थानिय तहमध्ये एक तहबाट अर्को तहमा सेवा प्रवेश गर्दा सेवा निरन्तरता कायम गर लगायतको विभिन्न माग समेत उनीहरुले राखेका छन् ।
छैंठौं अधिकृत पौडेलका अनुसार आफूहरुको माग पूरा नहुँदा सम्म आन्दोलन जारी रहने र माग पूरा गराउन थप कडा खालका संघर्षका कार्यक्रमहरु गर्ने समेत बताउनुभयो ।