भाईरल पोष्ट, धनुषा ।। डा.भिमराव अम्बेडकरको मानवतावादी दर्शनलाई आफ्नो मुख्य बिचारधारा बनाएर नेपाली भुमीमा बंचित समाजलाई शासक जमातमा रुपान्तरण गर्ने प्रमुख ध्येयका साथ आन्दोलनरत बहुजन एकता पार्टी नेपालले मधेश प्रदेशमा आफ्नो संगठन बिस्तारको काम लाई तिव्रता दिएको छ ।
आगामी मंसीर ४ गते हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई बढीभन्दा बढी सिटमा जिताउने अभियान स्वरुप थालिएको प्रशिक्षण भेला तथा संगठन विस्तारका क्रममा सो पार्टीले जनताको साथ, समर्थन र सहयोग पाएर लोकप्रियता समेत हासिल गरेको छ । मधेश प्रदेशमा दलित समुदायको जनसंख्या अन्य समुदायको भन्दा धेरै छ । बहुजन समुदाय विभिन्न पार्टीमा छरिएर बसेको र एक ढिक्का हुन नसकेको कारण यो प्रदेशमा दलित समुदायले सरकार लगायत राज्यका कुनैपनि तह तप्कामा पहुँच पु¥याउन सकेको छैन । त्यसैले अब बहुजन समुदायको शासन स्थापित गर्ने उदेश्यले बहुजन एकता पार्टी अघि बढेकोले सबै दलित, विपन्न र निमुखा वर्गलाई यसै पार्टीमा एकतावद्ध हुन सो पार्टीले आव्हान गरिरहेको छ ।
पार्टीको संगठन बिस्तार, सुदृढीकरण एवं निर्माण अभियानलाई अगाडि बढाउदैँ धनुषा जिल्लाको हंसपुर नगरपालिकाको बकचौरा, मलहनियामा बुधबार पुन बहुजन एकता पार्टीको संगठन निर्माण भएको छ । पार्टीलाई जनस्तरमा लोकप्रीय बनाउन निरन्तर कृयाशिल वरिष्ठ बहुजन नेता एवं राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानको प्रमुख आतिथ्यमा संपन्न भेलामा केन्द्रिय सह–महासचिव दुर्गाराम विश्वकर्मा, महिला नेत्री प्रमिला सदा, चुलहाई पासवान, श्याम महरा लगायतका नेताहरुले पार्टीको नीति, बिचार एवं मार्गबारे प्रशिक्षण दिनुभएको थियो ।
पार्टी प्रशिक्षण कार्यक्रमको स्वरुपमा आयोजित भेलालाई संबोधन गर्नुहुँदै प्रमुख अतिथी राजाराम पासवानले बहुजन समाजलाई धन, धर्ती र कुर्सि दिलाउन संगठन संघर्षरत रहेको बताउनु भयो । उहाँले वोट गरिवको र शासन सामन्तले चलाउने सिस्टम अब खतम गर्ने र जसको वोट उसको नेतृत्व हुनु पर्ने बिचार राख्नुभयो । कार्यक्रमलाई संबोधन गर्दै पासवानले भन्नुभयो, “बेइमानहरुको राज समाप्त न भए सम्म जनताले न्याय पाउन न सक्ने भएको हुँदा भ्रस्टाचारमा लिप्त पार्टी र नेताहरुलाई जनताले अब वोटमा पराजित गरि नयाँ इतिहास रच्नु पर्ने बेला आएको छ ।’’
सोही सभामा बोल्नुहुँदै प्रभावशाली बहुजन नेता एवं महिलाहरुको हक अधिकारका लागि निरन्तर संघर्ष गर्ने साहसिक नेतृत्वकर्ता प्रमिला सदाले त्रिभुवन राम देखि शम्भु सदाका हत्यारा पार्टीहरुलाई सहयोग गर्ने दलित बंचित समुदायका नेताहरु गदार रहेको र उनीहरुको केबल व्यक्तिगत स्वार्थ पूरा गर्ने सोच रहेकोले त्यस्ताको भ्रममा जनतालाई नपर्न अपिल गर्नुभयो ।