सोम दियाली, लालबन्दी ।। सर्लाहीको लालबन्दीमा कोभिड–१९ को सन्दर्भमा सामुदायिक सुरक्षा जालो र महिलावादी आन्दोलनको सुदृढीकरणका विषयमा प्रदेश स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
काठमाण्डौंमा रहेको टेवा धापाखेल नामक गैरसरकारी संस्थाले युएन युमेनसँगको सहकार्यमा यहाँ सो विषयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । नगरपालिकाको वडा नम्बर ५ स्थित अमरज्यान आधारभूत विद्यालयको सभाहलमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमको अध्यक्षता स्थानीय मातृभूमि नेपाल नामक संस्थाकी अध्यक्ष सुनिता तिमल्सिनाले गर्नुभएको थियो भने लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पना पाख्रिन प्रमुख अतिथी हुनुहुन्थ्यो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथी उपमेयर पाख्रिन लगायतका अतिथीहरुसँग सहभागि सामुदायिक सुरक्षा जालोमा आवद्ध महिला सदस्यहरुले महिला हिंसा, बलात्कार, दाइजो प्रथा, बहुविवाज, सम्बन्ध विच्छेद लगायतका विषयसँग सम्बन्धित प्रश्न गरेका थिए ।
सामुदायिक सुरक्षा जालोमा आवद्ध कल्पना वाग्ले, प्रतिमा कर्ण लगायतका महिला सदस्यहरुले महिलाका सवालमा नगरपालिका, न्यायिक समिति, वडा कार्यालय, प्रहरी प्रशासन र सरोकारवाला निकायहरुले गरिरहेका कामका विषयमा जिज्ञासा राखेका थिए । सो क्रममा उनीहरुले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित यहाँका मेयरले नगरकै स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई नगरपालिकाले ५ हजार रुपैयाँ उपलब्ध गराउने भनेर गरेको निर्णयको कार्यान्वयनको अवस्थाका विषयमा जिज्ञासा राखेका थिए । त्यस्तै उनीहरुले भूमि र सम्पतिमा महिलाको स्वामित्व वृद्धि गर्न नगरपालिकाले के गर्दैछ ? भनेर प्रश्न गरेका थिए । त्यस्तै उनीहरुले महिलामाथि हुने हिंसा अन्त्यका लागि नगरपालिकाको प्रयासका बारेमा पनि जिज्ञासा राखेका थिए । त्यस्तै महिला मुद्धामा प्रहरी प्रशासनले पनि प्रभावकारी ढंगले काम गर्न नसकेको भनेर प्रश्न गरेका थिए ।
त्यस्तै उनीहरुले नगरभित्र दलित तथा विपन्न समुदायमा अझै पनि बालविवाह यथावत रहेकोले सो को न्यूनिकरणमा नगरपालिकाले गरिरहेको प्रयासका बारेमा पनि जिज्ञासा राखेका थिए । त्यस्तै महिला, बालबालिका, अपाङ्ग, जेष्ठ नागरीक विपदको उच्च जोखिममा रहेकोले त्यसमा गम्भीर भएर लाग्न जनप्रतिनिधि र सरोकारवालाहरुलाई खबरदारी गरेका थिए ।
सार्वजनिक सुनुवाईका क्रममा उठेका सवालहरुमा प्रमुख अतिथी एवम् उपप्रमुख कल्पना पाख्रिन, वडा अध्यक्ष मिन प्रसाद ढुंगेल, महिला कल्याण समिति अध्यक्ष सानु पाख्रिन, प्रहरी सहायक निरीक्षक रविन्द्र प्रसाद दाहालले जवाफ दिनुभएको थियो ।
सार्वजनिक सुनुवाईका क्रममा अधिकांश प्रश्न नगरपालिकासँग सम्बन्धित भएकोले उपमेयर पाख्रिनले जवाफ दिनुभएको थियो । उहाँले न्यायिक समितिले विना भेदभाव काम गरिरहेको बताउनुभयो । उहाँले सुत्केरी भत्ताका सम्बन्धमा नगरपालिकाले गरेको निर्णय कार्यान्वयनकै चरणमा रहेको बताउनुभयो । त्यस्तै सम्पतिमा महिलाको स्वामित्व वृद्धि गर्न पनि नगरपालिकाले प्रयास गरिरहेको बताउनुभयो । उहाँले राष्ट्रिय भूमि आयोगले नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाको पूर्जा दिने गरी जग्गा नापजाँचको काम गरिरहेकोले त्यसमा पनि महिलाकै नाममा पूर्जा आउनेगरी नाम टिपाउन भनेको बताउनुभयो ।
त्यस्तै वडाअध्यक्ष एवम् कार्यक्रमका विशिष्ट अतिथी मिन प्रसाद ढुंगेलले विपद व्यवस्थापनमा आफूहरु गम्भीर भएर लागेको बताउनुभयो । त्यस्तै अतिथी महिला कल्याण समितिकी अध्यक्ष सानु पाख्रिनले महिलाका मुद्धामा केन्द्रित सार्वजनिक सुनुवाई कार्यक्रमको सराहना गर्नुहुँदै नगरभित्र दलित तथा विपन्न समुदायमा बालविवाह यथावत रहनु गम्भीर विषय भएको बताउनुभयो । उहाँले त्यस्ता विषयमा नगरपालिका र महिला अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाले पनि नगरपालिकासँग सहकार्य गरेर बालविवाह लगायतका कु–संस्कारहरु तोड्न काम गर्नुपर्ने बताउनुभयो ।
सार्वजनिक सुनुवाईका क्रममा टेवा धापाखेलकी कार्यक्रम संयोजक रुपा उदासीले सार्वजनिक सुनुवाई कार्यक्रमको उदेश्य र टेवा नामक संस्थाले गरेका गतिविधिहरुका बारेमा जानकारी राख्नुभएको थियो । उहाँले संकटका समयमा संकटको सामना गर्न सबैलाई एकजुट भएर एकअर्कालाई सहयोग गर्न सक्षम बनाउनु नै संस्थाको उदेश्य रहेको बताउनुभयो । विशेषगरी महिलाहरु विभिन्न खाले जोखिममा परेकाले उनीहरुको अवस्थालाई सुदृढ गर्न सघाउने कार्यक्रमको मुख्य उदेश्य रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा अमरज्यान आधारभूत विद्यालयका प्रधानाध्यापक बैजू चौधरी, सोही वडाका वडासदस्य सुनिता रास्कोटी, बुद्धिजीवी एवम् कानूनविद कृष्ण प्रसाद धमला, टेवा धापाखेलकी सन्तोषी श्रेष्ठलगायतको समेत आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार सोम दियालीले गर्नुभएको थियो ।