सोम दियाली, बलरा ।। सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ११ स्थित छनौनामा रहेको सुधा राजेश्वर माविमा नयाँ विद्यालय व्यवस्थापन समिति चयन भएको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद मण्डलको अध्यक्षतामा आइतबार भएको अभिभावकहरुको भेलाले स्थानीय शिक्षाप्रेमी सुजन यादव(श्रीचन)को अध्यक्षतामा ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरेको हो ।
शिक्षा शाखा प्रमुख मण्डलकै संयोजकत्वमा सोही विद्यालयका प्रधानाध्यापक, सम्बन्धित वडाका वडा अध्यक्ष, विद्यालयका संस्थापक परिवारका सदस्य, छिमेकी विद्यालयका प्रधानाध्यापक सदस्य रहेको निर्वाचन मण्डलले अभिभावक भेला मार्फत नयाँ व्यवस्थापन समितिका पदाधिकारी चुनेको विद्यालयलका प्रअ बिन्तीलाल यादवले जानकारी दिनुभयो ।
अभिभावक भेलाले नयाँ व्यवस्थापन समितिको अध्यक्षमा यादवसहित सुखलाल सहनी, कृपानारायण यादव, जयकलीदेवी, बुधन दास र किसमतदेवी मण्डललाई सदस्यमा चयन गरेको छ । त्यस्तै समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक विन्तीलाल यादव, संस्थापक परिवारका तर्फबाट उमेश कुमार सिंह र शिक्षाप्रेमीबाट सुरेश महतो समेत सदस्यमा चुनिनु भएको छ ।
झण्डै अढाई वर्षदेखि सो विद्यालय व्यवस्थापन समिति विहीन अवस्थामा थियो । विविध कारणले विद्यालय व्यवस्थापन समिति चयन नहुँदा विद्यालयको शैक्षिक गुणस्तरदेखि भौतिक निर्माण लगायतका विषयहरु ओझेलमा परेका थिए ।
यसअघि गएको चैत्र महिनामा तत्कालीन प्रधानाध्यापक प्रेमेन्द्र कुमार ठाकुरले व्यवस्थापन समिति चयन गर्ने प्रयास गर्नुभएको भएपनि त्यो पनि विविध कारणले सम्भव भएको थिएन । अहिले विद्यालयका नयाँ प्रधानाध्यापक विन्तीलाल यादवले भने आफूले जिम्मेवारी सम्हालेको छोटो समयमा नै विद्यालय व्यवस्थापन समिति चयन गर्न सफल भएको भन्दै साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।
सुधा राजेश्वर मावि विस २०४८ सालमा स्थापना भएको सामुदायिक विद्यालय हो । हाल यस विद्यालयमा कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको छ । यहाँ बलरा नगरपालिकाका छटौनासहित आसपासका क्षेत्रहरुबाट समेत विद्यार्थीहरु पढ्न आउने गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक विन्तीलाल यादवका अनुसार हाल यस विद्यालयमा बालविकास कक्षादेखि कक्षा १० सम्म साँढे ८ सय विद्यार्थी अध्ययन गरिरहेका छन् भने कक्षा ११ मा भर्खर नयाँ भर्ना सुरु भएको छ । त्यस्तै कक्षा १२ मा भने ३३ जना विद्यार्थी अध्ययनरत छन् ।