भाईरल पोष्ट, चन्द्रनगर ।। सर्लाहीको चन्द्रनगर गाउँपालिका बबरगञ्जकी तारादेवी सदा मुसहरले बुढेशकालमा नागरिकता पाउनुभएको छ ।
उहाँले गाउँपालिका र सामाजिक क्षेत्रमा क्रियाशील भोर नामक संस्थाको पहलमा नागरीकता पाउनुभएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताउनुभयो ।
भोर संस्थाका अध्यक्ष पचुलाल माझीले तारादेवीलाई नागरिकता दिलाउन आवश्यक कागजातको व्यवस्थापन र प्रशासन कार्यालय लैजानेसम्मको सहयोग गरेको गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो । गापा अध्यक्ष महतोका अनुसार माझीले आफ्नो क्षेत्रका नागरिकलाई नागरिकता बनाइदिन सहयोग गरेर नेपाली नागरिक बनाउने अभियान नै चलाउनुभएको छ । उहाँले कतिपय स्थानीयलाई ट्याक्टरमा लगेर, कैयौंलाई प्राविधिक सहयोग गरेर नागरिकता बनाइदिँदै आउनुभएको छ । माझीले अब ६ जनाको नागरिकता बनाउन सके आफ्नो टोल नागरिकतायुक्त टोल बन्ने बताउनुभयो ।
अनेक गर्दा पनि नागरीकता बनाउन नसक्नुभएकी तारादेवी भने गाउँपालिका र भोर नामक संस्थाको पहलमा नागरीकता पाएपछि खुशि हुनुभएको छ । नागरीकता नहुँदा १५ वर्षदेखि एकल महिलाको भत्ता पाउनबाट उहाँ बञ्चित हुनुभएको थियो । उहाँले नागरिकता बनाउनकै लागि अर्काको खेतमा पैसा नलिई कामसमेत गरेको दुःखद अनुभव सुनाउनुभयो । उहाँले धेरै जनालाई हारगुहार गरे पनि नागरिकता पाउन नसकेपछि निकै नै निराश हुनुभएको थियो । अब नागरीकता नै नपाईकन मरिन्छ कि भन्ने लागिसकेको उहाँलाई गाउँपालिका र भोर नामक संस्था विशेष गरी पचुलाल माझीले पहल गरेर नागरीकता बनाई दिएपछि निकै खुशि लागेको बताउनुभयो ।
तारादेवीले विवाह गरेको करिब २० वर्षपछि श्रीमान गुमाउनुभएको थियो । मानसिक अवस्था ठिक नभएका उहाँका श्रीमानलाई प्यारालाइसिस पनि भएको थियो । श्रीमानको नागरिकता भए पनि तारादेवीले नेपाली नागरिक परिचय पाउन सक्नुभएन । उहाँका २ छोरा १ छोरी, २ नाती र २ नातिनी छन् ।
तारादेवीले नागरिकता बनाइदिने आश्वासनमा परेर पैसाबिनै अर्काको काम गरेर लामो समय बिताउनुभएको थियो । आर्थिक अवस्था निकै कमजोर रहेको तारादेवीले नागरिकता नबनेकै कारण विगत १५ वर्षदेखि एकल महिलाको भत्तासमेत पाउन नसकेको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताउनुभयो । तारादेवी नागरिकता बनाउनकै लागि हजारौं रुपैयाँ ठगीमा समेत परेको समेत अध्यक्ष महतोले बताउनुभयो । ‘वर्षौदेखि चारैतिर भौतारिएर थकित हुनुभएकी र आफू अतिविपन्न भए पनि कर्जा लिएर हजारौं रुपैयाँ नागरीकता पाउने आशामै खर्च गर्नुभएकी तारादेवीले अन्ततः आज नेपाली नागरिकता पाउनुभएको छ । उहाँ आजदेखि नेपाली नागरीक हुनुभएको छ ।,’ गाउँपालिका अध्यक्ष महतोले भन्नुभयो ।
दैनिक ज्यालादारी मजदुरी गरी गुजारा गर्दै आउनुभएकी तारादेवीले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएपछि मर्ने बेलामा भए पनि नेपाली नागरिक हुन पाएकोमा खुसी व्यक्त गरेको गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।
महोत्तरीको गौशाला माइती भएकी तारादेवीले आवश्यक कागजात र नागरिकता बनाउने प्रक्रियाको अज्ञानताका कारण पुस्तौदेखि बसोबास गरे पनि आफ्नै देशमा अनागरिक भएर बाँच्न बाध्य भएको गापा अध्यक्ष महतोले भन्नुभयो । ‘उहाँले नागरिकता बनाइदिने आशमा कैयौंपटक खेतमा फ्रीमै काम गर्नुभयो्, कैयौको पछिपछि पनि लाग्नुभयो तर नागरिकता प्राप्त गर्न सक्नुभएको थिएन्,’ अध्यक्ष महतोले भन्नुभयो ।