सोम दियाली, धनुषा ।। आम शोषित पीडित बहुजन समाजको अधिकारको लागि स्थापित बहुजन एकता पार्टी नेपालले देशव्यापी प्रशिक्षण भेला तथा संगठन विस्तारलाई थप व्यापक बनाउँदै लगेको छ ।
आगामी मंसीर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनमा उत्पीडित बहुजन समाजको हक अधिकार सुनिश्चितताका लागि बहुजन एकता पार्टी नेपाललाई बढीभन्दा बढी सिटमा जित दिलाउन सो पार्टीले देशव्यापी रुपमा स्वाभिमान अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत सो पार्टीले शोषित पीडित जनताका घरघरमा पुगेर बहुजन एकता पार्टीको नीति, सिद्धान्त र पार्टीको भावी कार्यदिशाको बारेमा आम जनतालाई जानकारी दिई रहेको छ । शोषित पीडित बहुजन समाजको हक अधिकार के हो ? किन उनीहरु आफ्नो हक अधिकारबाट बञ्चित भए ? बहुजन एकता पार्टी बाहेक अरु पार्टीले शोषित पीडित बहुजन समाजको हक अधिकार दिलाउन किन सक्दैनन् ? लगायतका विषयमा जनतालाई सो पार्टीले स्वाभिमान यात्राका क्रममा सु–सुचित गराई रहेको छ ।
यसै क्रममा आईतबार धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको औराहामा पनि सो पार्टीले प्रशिक्षण भेलाको आयोजना गरेको छ । भेलाले औराहामा पार्टीको संगठन समेत निर्माण गरेको छ ।
बहुजन समाजलाई शासक बनाउने मिसनलाई पूरा गर्न त्यहाँ पनि संगठन विस्तार गरिएको सो पार्टीका बरिष्ठ नेता एवम् राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार औराहामा पार्टीका स्थानीय नेता सियालाल दासको अध्यक्षतामा संगठन विस्तार गरिएको हो ।
गठित समितिको उपाध्यक्षमा जोगी दास, सचिवमा राम भगत खत्वे, कोषाध्यक्षमा जितोदेवी दास रहनुभएको छ । त्यस्तै सदस्यमा सरैत मुखिया, रापप्रसाद सद लगायत रहनुभएको छ । भेलाले गठन गरेको समितिले मंसीर ४ गते हुने आम चुनावलाई लक्षित गरेर ग्रास लेभलमा कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय समेत गरेको सो पार्टीका केन्द्रीय सह–महासचिव दुर्गाराम विश्वकर्माले जानकारी दिनुभएको छ ।
प्रशिक्षण भेला तथा संगठन विस्तार कार्यक्रमका प्रमुख अतिथी सो पार्टीका वरिष्ठ नेता राजाराम पासवानले बिकाउ समाजले टिकाउ नेता पैदा गर्न न सक्ने हुँदा अब बिक्ने समाजलाई न बिक्ने समाज निर्माण गर्नु हाम्रो कर्तव्य रहेको बताउनु भएको छ । बौद्धिक बेइमानहरुको बेइमानीको कारण बहुजन समाज दासता जीवन बाँच्न बाध्य भएको भन्दै पढेलेखेका एवं जागिरदार बहुजनहरुलाई इमानदार हुन बरिष्ठ नेता पासवानले आग्रह समेत गर्नुभयो । नेता पासवानले विभिन्न मनुवादी पार्टीहरुमा लागेर दलित बहुजन कहिले पनि सरकार बन्न न सक्ने भएको हुँदा पार्टी भित्रको गुलाम बन्ने र समाजलाई दास बनाउने प्रवृति छोडेर बहुजन एकता पार्टीमा जोडिन र संगठित हुन सबैलाई आह्वान गर्नुभयो ।
हुकुमरान न बने हत्या हिंसा र बलात्कार रोकिन न सक्ने, शिक्षा, स्वास्थ, रोजगारको ग्यारेन्टी हुन नस्क्ने तथा आत्मसम्मानित जीवन जिउनै न सक्ने भएकोले शासक बन्न हरेक दलित बंचितले अगामी निर्वाचनमा बहुजन एकता पार्टी नेपालको ढल्केको भ¥याङ अर्थात सिढि छापलाई मतदान गर्न नेता पासवानले अनुरोध गर्नुभयो ।
उहाँले निरन्जन रामको हत्यारा एवं सम्भु सदालाई मार्ने खस पार्टी एवं मधेसी पार्टीलाई भोट र सपोर्ट गर्नेहरुको जमिर मरिसकेको हुँदा जमिर मरेकाहरुको भर न पर्न र मिसनलाई अगडि बढाइ बहुजन महापुरुषहरुको पदचिन्हमा अगाडि बढ्नेहरुलाई साथ दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीकी महिला नेत्री प्रमिला सदा, सह–महासचिव दुर्गाराम विश्वकर्मा, शिबनन्दन दास, लत्तर दासलगायतका नेताहरुले मन्तव्य राख्नुभएको थियो ।