भाईरल पोष्ट, पर्सा ।। सर्लाहीको हरिपूर्वा नगरपालिका पछि पर्सा गाउँपालिकामा पनि बाल क्लव गठन गरिएको छ ।
गाउँपालिका कार्यालयको आयोजनामा त्यहाँ सामाजिक क्षेत्रमा काम गर्ने संस्था बागमती सेवा समाज र वल्र्ड भिजन नेपालले त्यहाँ हरेश्वर महतोको अध्यक्षतामा ११ सदस्यीय पालिका स्तरीय बाल क्लव गठन गरेको हो ।
नव गठित बाल क्लवको उपाध्यक्षमा चाँदनी मण्डल, सचिवमा रोशनी खातुन, कोषाध्यक्षमा आतिश कुमार शर्मा, सह–सचिवमा अस्मिता कुमारी चण्डारी चयन भएको बागमती सेवा समाजमा कार्यरत संजीव झाले बताउनुभयो ।
वडा नम्बर ३ का वडाअध्यक्ष रघुनाथ साहको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यतामा गाउँपालिकाका वडा नम्बर १ देखि ६ सम्मका बालबालिकाहरुको भेलाबाट गाउँस्तरीय बाल क्लब गठन गरिएको हो । बालभेला तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमसहित जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेल, राष्ट्रिय अनुसन्धानका सर्लाही प्रमुख एसपी चन्दन झा, बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, कार्यक्रम संयोजक प्रमेश बादे र गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्षसहितका निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बाल भेलाका क्रममा भएको बाल अन्तरक्रियाका क्रममा उपस्थित विभिन्न क्षेत्रका प्रतिनिधिहरुसँग बालबालिकाहरुले बालविवाह न्यूनिकरण, लागूपदार्थ नियन्त्रण तथा बालबालिकाको हकअधिकार र बालबालिकाहरुको समस्या समाधानका सवालमा प्रश्न गरेका थिए भने उपस्थित अतिथि तथा बक्ताहरुले उनीहरुको जिज्ञासाको जवाफ दिनुभएको थियो ।