सोम दियाली, लालबन्दी ।। खानेपानी तथा सरसफाई संस्था लालबन्दीका नव निर्वाचित अध्यक्ष देवनाथ पोखरेलसहितका कार्यकारिणी समति, वडा समन्वय समिति र प्रतिनिधि परिषद सदस्यहरुले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
संस्थाकी कार्यवाहक अध्यक्ष शान्ता भण्डारीको अध्यक्षता तथा प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा लालबन्दी नगरपालिका ६ स्थित लेखाली चौरमा रहेको संस्थाको कार्यालय प्राङ्गणमा एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष पोखरेलसहितका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ खुवाईएको हो ।
खानेपानी संस्थाका निवर्तमान अध्यक्ष समेत रहनुभएका कार्यक्रमको विशिष्ट अतिथी लालबन्दी नगरपालिकाका प्रमुख मेयर बासुदेव अधिकारीले संस्थाका नवनिर्वाचित अध्यक्ष पोखरेललाई सपथ खुवाउनुभएपछि नव निर्वाचित अध्यक्ष पोखरेलले कार्यसमितिका अन्य पदाधिकारी तथा वडा समन्वय समिति र प्रतिनिधि परिषदका सदस्यहरुलाई सपथ खुवाउनुभएको हो ।
खानेपानी संस्थाको अध्यक्षको सपथ ग्रहण पछि आफ्नो धारणा राख्नुहुँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले लालबन्दीवासीलाई सर्वसुलभ र सुरक्षित पिउने पानी उपलब्ध गराउन जिम्मेवार भई लाग्ने बताउनुभयो । उहाँले आफूसहित खानेपानी संस्थामा अमूल्य मतदान गरी विजयी बनाउने सम्पूर्ण खानेपानी उपभोक्ता तथा लालबन्दीवासीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले लालबन्दीमा खानेपानीको दिगोपनाका लागि यसअघिका समितिले गरेको राम्रो कामलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गएको साउन २८ गते भएको निर्वाचनमा नेकपा एमालेको समर्थनमा स्वतन्त्रबाट खानेपानी संस्थाको अध्यक्षमा निर्वाचित हुनुभएका उहाँले आफूहरु नयाँ भएपनि पुराना समितिका साथीहरुले बाटो देखाउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । ‘खानेपानी संस्थाको विकासमा देवनाथ पोखरेल एउटै लागेर हुँदैन या देवनाथ पोखरेलको टिम मात्रै लागेर पनि हुँदैन ।’, नव निर्वाचित अध्यक्ष पोखरेलले भन्नुभयो, ‘त्यसका लागि आम नगरवासी आम उपभोक्ताले अघिल्ला समितिलाई जसरी हामीलाई पनि साथ दिनुहुनेछ भन्ने विश्वास दिएको छु ।’
त्यस्तै कार्यक्रमकी प्रमुख अतिथी प्रदेशसभा सदस्य बेची लुंगेलीले खानेपानी संस्थाका सम्पूर्ण निर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै खानेपानीको लालबन्दीको गौरबको योजना भएको बताउनुभयो । उहाँले खानेपानीसँग लालबन्दीको विकास जोडिएकोले खानेपानी संस्थाका नवनिर्वाचित पदाधिकारीहरुले आम उपभोक्ताको मन जितेर काम गर्न सक्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा खानेपानी संस्थालाई सफल बनाउन अहोरात्र खट्ने पदाधिकारीहरु र कर्मचारीहरुलाई समेत मायाको चिनोसहित सम्मान गरिएको थियो । त्यस्तै नव निर्वाचित पदाधिकारीहरुलाई खादा र अविर लगाएर स्वागत गरिएको थियो । त्यस्तै कार्यवाहक अध्यक्ष शान्ता भण्डारी, सचिव शिवकृष्ण बैद्यलगायतका पुराना पदाधिकारीहले नवनिर्वाचित पदाधिकारीहरुलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्षहरुसहित नेकपा एमालेका नगरअध्यक्ष विक्रम भण्डारी, नेकपा माओवादी केन्द्रका लालबन्दी ईन्चार्ज लेखराम जर्गा(अर्जुन), एकीकृत समाजवादीका नगर अध्यक्ष राजन काफ्ले(जगन्नाथ), रापप्रा लालबन्दी अध्यक्ष गंगा प्रसाद चौलागाई, खानेपानी संस्थाका संस्थापक अध्यक्ष आभूषण चौलागाई, उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष देबीबन्धु थापा, संस्थाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका लेखा प्रमुख एवम् सूचना अधिकारी ठाकुर प्रसाद बख्रेल(मनोज)ले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका निवर्तमान सचिव एवम् वडा नम्बर १३ का वडाअध्यक्ष शिवकृष्ण वैद्यले स्वागत मन्तव्यसहित संस्थाका गतिविधिहरुका बारेमा बोल्नुभएको थियो ।
खानेपानी तथा सरसफाई संस्थाले लालबन्दी नगरपालिकाको वडा नम्बर ३ देखि १३ सम्मका १० ओटा वडाका झण्डै साँढे सात हजार उपभोक्तालाई सुरक्षित पिउनेपानी उपलब्ध गराउँदै आएको छ ।
तेश्रो साना सहरी आयोजनासँगको सहकार्यमा सञ्चालित खानेपानी तथा सरसफाई संस्थाले लालबन्दीका सबै १७ ओटै वडामा सुरक्षित पिउने पानी उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ ।