भाइरल पोष्ट,काठमाडौं ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिका र युरोपेली युनियनका राजदुतले भेट गरेका छन् । शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा प्रचण्डसँग राजदूतहरुले भेटवार्ता गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
भेटमा राजदूतले नेपालमा भएका गम्भीर मानव अधिकार उलङ्घनको घटना र पीडितहरुको पुनरावेदनको अधिकारकाबारे चासो राखेको मल्लले जानकारी दिए । उनीहरुले नेपालको शान्ति प्रक्रिया टुंगोमा पु¥याउन सकरात्मक सहयोग र सद्भाव रहने बताएका छन् । राजदूतहरुले नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको बताएका थिए । उनका अनुसार संयुक्त राष्ट्र संघका आवासीय संयोजक, अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मन, स्विस तथा युरोपेली युनियनका राजदुतहरुको संयुक्त प्रतिनिधिमण्डलले अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् ।
प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदान रहेको स्मरण गरे। उनले शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा राजदूतले देखाएको सामुहिक सुभेच्छा र चासोका लागि धन्यवाद दिए । उनले विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायका संवेदनसिलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पु¥याउन सफल हुने विश्वास व्यक्त गरे ।