सोम दियाली, लालबन्दी ।। साउन २८ गते सम्पन्न खानेपानी तथा सरसफाई संस्था लालबन्दीको चुनावमा पराजित हुनुभएका अध्यक्षका प्रत्यासी ईन्द्र बहादुर योन्जनले आफूलाई मतदान गर्ने क्षेत्री, ब्राह्मणबाहेकका मतदातालाई मात्रै धन्यावाद दिएपछि सामाजिक सञ्जालमा उहाँको व्यापक आलोचना भएको छ ।
उहाँले सामाजिक सञ्जालमा एक स्टाटस राख्नुहुँदै, ‘आदरणीय सम्पूर्ण आदिवासी जनजाती, मधेशी तथा दलित समुदायहरुमा खाने पानी निर्वाचनमा अमूल्य मतदिई सम्मान गर्नुभएकोले यहाँहरुप्रति आभार तथा धन्यवाद व्यक्त गर्दछु । ईन्द्र योन्जन’ भनेर लेख्नुभएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उहाँको पोष्टमा कमेन्ट गर्दै आवेशमा नआउन र साम्प्रदायिक सोच बदल्न सुझाव दिएका छन् ।
यो समाचार तयार गर्दा सम्म उहाँको पोष्टमा २१० जनाले लाईक र ८८ जनाले कमेन्ट गरेका छन् । कमेन्ट गर्ने अधिकांशले योन्जनलाई जातीय चिन्तन र साम्प्रदायिक सोचबाट माथि उठ्न सुझाव दिएका छन् । कतिपयले जातीय र नश्लवादी चिन्तनकै कारण खानेपानीको चुनावी परिणाम योन्जनले सोचेजस्तो नभएको समेत टिप्पणी गरेका छन् ।
उहाँको पोष्टमा खानेपानीको अध्यक्षका अर्का उमेदवार श्याम श्रेष्ठले पनि कमेन्ट गर्नुभएको छ । अध्यक्षका प्रत्यासी उमेदवार श्रेष्ठले योन्जनको पोष्टको कमेन्टमा लेख्नुभएको छ, ‘दाजु खानेपानीको चुनाव होरर के भयो र जिन्दगी र राजनीतिक पुरै सकिएको हो र ? फेरी चुनाव आउँछ लड्नु न धेरै चिन्ता नलिनु तपाई मात्रै चुनाव हार्नेमा पर्नुभएको छ र चिन्ता लिनुभएको ? फेरी जनताको काम गर्नुपर्छ जनताको मूल्यांकनमा परिहालिन्छ भाईको सल्लाह मात्र दाजु ।’
त्यस्तै माओवादीका नेता समेत रहेका राजकुमार यादवले पनि उहाँको पोष्टमा कमेन्ट लेख्नुभएको छ । उहाँले कमेन्टमा भन्नुभएको छ, ‘यो जनजाति मधेशी आदिवासी के हो ? तपाईको जातीय सोच । तपाई जातिबाद सोच नहटाउन्जेल केहीमा उपाय छैन । तपाईले लालबन्दी खानेपानी उपभोक्तालाई सम्बोधन गरे भैगोनि यसमा सबै जातजाति पर्छ ।’
लालबन्दी जेसिसका अध्यक्ष एवम् व्यवसायी सन्तोष पौडेलले पनि योन्जनको पोष्टमा कमेन्ट गर्दै लेख्नुभएको छ, ‘दाइ रिसानी माफ होस ,यश अघि को स्थानीय चुनाव लडदा पनि यस्तै नस्लिय चिन्तन ले गर्दा पराजित हुनु परेको थियो ,यसपालि पनि पराजित हुदा मन मस्तिष्क मा यहि चिन्तन रहेछ ,अब दाइ लाई समर्थन गरि अहोरात्र खट्ट्ने ती बाहुन छेत्री ले भबिस्यमा फेरि साथ देलान त ? यदि तपाई साच्चिकै राजनितिग्य हो भने सबै जात धर्म सम्प्रदाय लाई समान नजर ले हेर्नुस ,दाइ को यो लेखाइ समय सापेक्ष भएन ।’
त्यस्तै अर्का समाजिक सञ्जाल प्रयोगकर्ता सरोज राउत लेख्नुहुन्छ, ‘तपाईको लगातारको असफलताको कारण तपाईको यही चिन्तन हो । सोच बदलौं ।’
त्यस्तै अभिशेक नगरकोटी लेख्नुहुन्छ, ‘दाईलाई यसैले विगारेको हो, कित साम्प्रदायिक सोच हो के दाई ? अलि माथि आउनुस् न ।’
राम्जी दुलालले पनि कमेन्ट गर्दै लेख्नुभएको छ, ‘अलि फराकिलो सोच राखौं । राजनीति गर्ने व्यक्तिको यति साँघुरो सोच स्वयमका लागि फाईदाजनक हुन्न कि !’
को हुन् ईन्द्र योन्जन ?
ईन्द्र योन्जन केही वर्ष अघि घारीबथानबाट लालबन्दी आएर बस्नुभएका लालबन्दीका बासिन्दा हुनुहुन्छ । उहाँ लामो समय नेकपा माओवादी केन्द्रमा सक्रिय रहनुभएको थियो ।
२०७४ सालमा भएको चुनावमा माओवादी केन्द्रकै तर्फबाट उहाँ लालबन्दी नगरपालिकाको मेयरको प्रत्यासी बन्नुभएको थियो । त्यतिबेला पनि उहाँले जातिय रोश फैलाउने खालका अभिव्यक्ति दिएकै कारण मेयरमा पराजित भएको भन्ने चर्चा अहिले पनि सेलाएको छैन ।
त्यसपछि संविधानसभा सदस्य एवम् पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ माओवादी त्यागेर पुनः नेपाली काँग्रेसमै फर्किनु भएपछि योन्जन पनि श्रेष्ठसँगसँगै काँग्रेसमा आउनुभएको थियो । त्यसरी काँग्रेसमा आउनुभएको योन्जनलाई कतिले पूर्वमन्त्री श्रेष्ठसँगै सति गएको भन्न सम्म भ्याए ।
योन्जन हाल नेपाली काँग्रेस सर्लाहीको सह–सचिव हुनुहुन्छ । काँग्रेसको १४ महाधिवेशनबाट सह–सचिव हुनुभएका उहाँले सह–सचिव पद पनि शम्भुलाल श्रेष्ठकै निगाहका कारण पाएको भन्नेहरु पनि भेटिन्छन् ।
त्यसपछि वैशाख ३० गते भएको निर्वाचनमा लालबन्दीको मेयरमा योन्जनको नाम पनि चर्चामा थियो तर काँग्रेसले बासुदेव अधिकारीलाई मेयरको टिकट दियो ।
चुनाव लगतै भएको खानेपानीको चुनावमा भने नेपाली काँग्रेसले काँग्रेस–एकीकृत समाजवादी गठबन्धनको साझा उमेदवारको रुपमा योन्जनलाई अध्यक्षको उमेदवार बनायो ।
चुनाव हो हार जित त हुन्छ नै । नभन्दै योन्जन एमालेका उमेदवार देवनाथ पोखरेलसँग २०८ मतले पराजित हुनुभयो । अध्यक्षमा पोखरेलले २ हजार ८८ मत पाउनुभएको थियो भने योन्जनले १ हजार ८८० मत पाउनुभएको थियो । चुनावमा योन्जनले पाएको मत थोरै भने हुँदै होईन । र यो मत आदीवासी जनजाती, मधेशी र दलितको मात्रै पनि थिएन । तब पनि उहाँले सामाजिक सञ्जालमा किन त्यस्तो स्टाटस राख्नुभयो भन्ने आम चासो उब्जिएको छ । उहाँको स्टाटसले उहाँलाई भोट दिएका क्षेत्री ब्रह्माण समुदायमा पनि चोट पुगेको छ ।
त्यसो त चुनावमा उहाँ मात्रै पराजित हुनुभएको पनि हैन । एमालेबाट प्यानलै विजयी हुँदा एमालेकै कोषाध्यक्ष पदका उमेदवार मान बहादुर विश्वकर्मा पनि पराजित हुनुभएको थियो । अब के विश्वकर्माले पनि यस्तै गरी साम्प्रदायिक सोच राखेर स्टाटस राख्ने ?
योन्जनको पोष्टलाई लिएर अनेकथरी अड्कलबाजी समेत हुन थालेको छ । उहाँले आफ्नो पोष्टमा आएका केही कमेन्टहरुको जवाफ दिनुहुँदै काँग्रेसले आफूलाई बलिको बोको बनाएको आरोप लगाउनु भएको छ । उहाँले थप अर्को एक पोष्ट राख्नुहुँदै ‘अरुको भरमा हिड्दा लडिदो रैछ अब एक्लै हिड्नेक कोशिस गर्दैछु ।’ भनेर समेत लेख्नुभएको छ । के अब योन्जनले साँच्चै नै काँग्रेस परित्याग गर्न लाग्नुभएको हो त ? पार्टीको जिल्ला सह–सचिव भईसकेको नेताले पार्टी परित्याग त गर्नुहुन्न होला । तर पनि योन्जनले के चाहानुभएको छ ?
उहाँको पोष्टमा माओवादी कार्यकर्ताहरुले पनि पुरानो पार्टीमा फर्किन सुझाव दिएका छन् । कतिपय एमालेका कार्यकर्ताले पनि घुमाउरो शैलीमा एमालेमा आउन आग्रह गरेको बुझ्न सकिन्छ ।
अब योन्जनले के गर्नुहुन्छ त्यो भने हेर्न बाँकी छ । उहाँले माफी मागेर अघि बढ्नु हुन्छ या अरु केही गर्नुहुन्छ । त्यो लालबन्दीवासीले प्रतिक्षा गरेका छन् ।