फलेन्द्र मगर, युएई संवाददाता ।। नेपाल आदिवासी जनजाती महासघं युएईले विगतका वर्षमा झैं यस वर्ष पनि विश्व आदिवासी दिवस धुमधामसँग मनाएको छ । “आदिवासी ज्ञानको संरक्षण पुस्तान्तरणमा महिलाको भुमिका’’ भन्ने मुल नाराका साथ नेफिन युएईले दिवसका अवसरमा एक भव्य कार्यक्रमको आयोजना गरेको हो ।
नेफिन युएई की अध्यक्ष बिजयालक्ष्मी राईको अध्यक्षतामा नेपाली राजदुतावास युएईका राजदुत कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा श्रम काउन्सिलर दीनबन्धु सुवेदी र विशाल भट्टराईको पनि विशेष उपस्थिति रहेको थियोे । कार्यक्रममा नेपाली समाज युएईमा आबद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता तथा सहभागिता रहेको थियोे ।
हरेक वर्ष अगस्ट महिनामा विश्व आदिवासी दिवसको दिनलाई लक्ष्य गरि मनाउदै आइरहेको कार्यक्रम गत वर्ष कोभिड–१९ महामारीका कारण भने हुन सकेको थिएन । कोभिड नियन्त्रण भए सँगसँगै यस वर्ष भने १४ अगस्टका दिन २८औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसर पारेर युएईको दुबई शहर स्थित क्लब एभरेस्टमा एक भव्य समारोहको आयोजना भएको हो ।
कार्यक्रममा आदिवासी जनजातीहरुको पौराणिक महत्व झल्कने साँस्कृतिक झाँकी, भेषभुषा, बाजागाजा, मौलिक परिकार र घरायसी सर–सामाग्री प्रदर्शनी स्टलमा राखिएको थियोे भने आदिवासी युवायुवतीहरुको व्यक्तित्व र बौद्धिकता विकासका लागी “Mr & Miss Indigenous 2022” प्रतियोगीताको आयोजना गरिएको थियो । सो प्रतियोगिताको उपाधि पुरुषतर्फ थाकस युएईबाट केशवराज महतो र महिलातर्फ किराँत राई यायोख्खा युएई कि सुश्री सिमा राईले जित्नु भएको कार्यक्रम संयोजक डम्बर लिवाहाङ लिम्बूले जानकारी दिनुभयो ।
अनौपचारिक कार्यक्रममा स्थानीय कलाकारहरुको विविध प्रस्तुति समेत रहेको उक्त कार्यक्रमको संचालन केशवराज महतोले गर्नुभएको थियो । दुबईमा आयोजना भएको एक्सो २०२० अवधी भर नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै विश्व सामु नेपालको मौलिकता, साँस्कृतिक, प्राकृतिक सम्पदा र संस्कृति झल्काउने नेपाल आदिवासी जनजाति महासंघ युएईका कलाकारहरुको उच्च सम्मान गर्दै कदर स्वरुप सम्मान पनि गरिएको नेफिन युएई कि अध्यक्ष सुश्री बिजया लक्ष्मी राईले बताउनुभयो ।
त्यसै गरि सोही कार्यक्रममा कोभिड–१९ महामारीको समयमा समस्यामा परेका नेपालीहरुलाई राहत तथा उद्दार गर्न स्थानिय प्रशासनसँग समन्वय गरि कोभिड–१९ बाट प्रभावित नेपाली समुदायको सेवामा अहोरात्र खटिने जनजातिका स्वयंसेवकहरुलाई समेत सम्मान गरिएको नेपाल मगर संघ शाखा युएईका प्रमुख सल्लाहकार टंक थापा मगरले जानकारी दिनुभयो ।