सोम दियाली, लालबन्दी ।। आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने भएपछि टिकटको दाबी जिल्ला तहमै सुरु भएको छ ।
क्षेत्रमा अधिकांश दलका नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा सम्भावित उमेदवारहरुको नाम र फोटो राख्दै बधाई दिन सुरु गरिसकेका छन् । यस्तैमा पाँच दलिय गठबन्धनको चपेटामा परेको तर एक्लैले गठबन्धनलाई तह लगाउने हिम्मतका साथ चुनावको तयारी गरिरहेको नेकपा एमालेले पनि सर्लाहीमा क–कसलाई टिकट दिएर उमेदवार बनाउला भन्ने विषयमा पनि यहाँका नेता कार्यकर्ताहरुमा बहस चल्न थालेको छ ।
यतिखेर हामी तपाईलाई सर्लाही क्षेत्र नम्बर १ मा संघ र प्रदेशका सम्भावित उमेदवारहरु को को छन् भनेर जानकारी दिन गईरहेका छौं । सामान्यतया सर्लाहीको क्षेत्र नम्बर १ नेकपा एमालेको गढ नै मानिन्छ । तर पछिल्लो दुई आमचुनावमा भने एमालेले संघीय संसद जित्न सकेन । पार्टी भित्रको अन्तरघात र एकले अर्कोलाई असहयोग गरेका कारण एमालेले २०७० र २०७४ को चुनावमा यो क्षेत्रमा जित्न सकेन । तर प्रदेशतर्फ भने गएको आम चुनावमा एमालेले प्रदेश(ख) मा जितेको थियो । जितेको सिट पार्टी विभाजनका कारण अहिले एमालेसँग छैन ।
मंसीर ४ गते हुने चुनावमा यो क्षेत्रमा एमालेले बाजी मार्ने दाबी गरेको छ । उसले गठबन्धन हुँदा पनि यो क्षेत्रमा एमाले बलियो भएकोले जित्ने दाबी गरेको हो । यो क्षेत्रमा एमालेले जित्ने दाबी गरिरहँदा पार्टीले कस्लाई टिकट दिएर उमेदवार बनाउला त्यो भने हेर्न बाँकी छ । तर यहाँ अहिले चर्चामा रहेका सम्भावित उमेदवारहरुको चर्चा गरिएको छ ।
मनोज कुमार देवकोटा : मनोज कुमार देवकोटा ईश्वरपुर नगरपालिकाका निवर्तमान मेयर हुन् । नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष समेत रहेका देवकोटा हाल मधेश प्रदेश कमिटी सदस्य छन् । उनी वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दोश्रो कार्यकालका लागि मेयरमा लडे तर चुनाव जितेनन् ।
गएको चुनावमा मेयरमा उमेदवार बन्नुअघि पनि उनको नाम मेयरमा भन्दा पनि संघीय संसदमा आएको थियो । तर उनी मेयरमै लडे । मेयरमा हारे पनि अहिले फेरी उनको चर्चा संघीय संसदको लागि उमेदवार बन्नेमा चलेको छ । हुन त प्रत्येक पटकको संघीय चुनावमा उनको नाम संसदको उमेदवार बन्न आउने गर्छ तर टिकट भने पाउँदैनन् ।
यसपटक मेयरमा हारे पनि उनको नाम संघीय संसदको सम्भावित उमेदवारहरुको पहिलो पंक्तिमा आएको छ । उनी मेयरमा हारेपनि प्रतिनिधि सभाको चुनावमा जित्ने दाबी एमाले कार्यकर्ताहरुले गरेका छन् । यस पटक देवकोटा भन्दा भारी उमेदवार अरु नभएको र देवकोटाले नै जित्ने भएकोले उनलाई नै टिकट दिनु पर्ने कार्यकर्ताहरुले दाबी गरेका छन् । तर उमेदवार बन्ने नबन्ने विषयमा देवकोटाले भने मुख खोलेका छैनन् । तर टिकट पाए पछि नहट्ने छाँटकाँट भने उनले देखाएका छन् ।
रेवती पन्त : रेवती पन्त नेकपा एमालेमा सफल र चर्चित पात्र हुन् । पन्त नेकपा एमालेमा केन्द्र सम्म नै पहुँच राख्ने र प्रभावशाली नेताको रुपमा समेत चिनिनु हुन्छ । उनी एमालेको पूर्व जिल्ला अध्यक्ष र हालका मधशे प्रदेश उपाध्यक्ष हुन् । जिल्लाको ३ नम्बर क्षेत्र अन्तर्गत बागमती घर भएका पन्त यस पटकको चुनावमा क्षेत्र नम्बर १ बाट उमेदवार बन्ने चर्चा सुनिन थालेको छ ।
उमेदवार बन्ने नबन्ने विषयमा पन्तले केही बताएका छैनन् तर यहाँका नेता कार्यकर्तामा भने पन्तलाई क्षेत्र नम्बर १ बाट संघीय संसदमा उठाउने कुरा भईरहेको बुझिएको छ । पन्त जतिको नेतालाई संघीय संसदमा उठाउँदा यहाँका एमाले कार्यकर्तालाई अन्याय नहुने र चुनाव पनि जित्न सकिने एमालेजनको दाबी छ ।
रन्जना सरकार : रन्जना सरकार संविधान सभा सदस्य हुन् । एमाले केन्द्रीय सदस्य समेत रहेकी सरकार आगामी मंसीर ४ गते हुने चुनावमा सर्लाही क्षेत्र नम्बर १ की दाबेदार र सम्भावित उमेदवार हुन् ।
उनको चर्चा बाहिर नआएको भएपनि पार्टीभित्र चलेको एक एमाले नेताले बताए । ‘संविधान सभा सदस्य भईसकेको नेतृ भएकोले अबको उमेदवारमा दाबी उहाँको पनि रहन्छ’, एक एमाले नेताले भने । उमेदवार बन्ने र टिकट पाउने विषयमा उनी स्वयमले केही कुरा नबताए पनि एमालेभित्र भने उनको चर्चा चल्ने गरेकोले अबको चुनावमा एमालेको सम्भावित उमेदवार सरकार पनि रहेको बुझिएको छ ।
प्रतिनिधिसभामा जस्तै प्रदेश सभामा पनि उमेदवार बन्ने नेताहरुको नाम भाईरल पोष्टलाई प्राप्त भएको छ । एमाले नेताकार्यकर्ताहरुले बताए अनुसार दुई ओटा प्रदेशसभा क्षेत्र रहेको क्षेत्र नम्बर १ मा थुप्रै नेताहरुको चर्चा भईरहेको छ । ती मध्ये केही नेताहरुको बारेमा यहाँ जानकारी प्रस्तुत गरिएको छ ।
मान बहादुर खड्का : मान बहादुर खड्का लालबन्दी नगरपालिकाका निवर्तमान मेयर हुन् । नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य समेत रहेका उनी पूर्व हरिभवन गाविस अध्यक्ष समेत हुन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दोश्रो पटक पनि मेयरमा टिकट पाएका उनको अन्तिममा आएर टिकट रद्ध भएको थियो । तर मंसीर ४ गते हुने चुनावमा प्रदेशसभा तर्फ क्षेत्र (ख) मा उनको चर्चा सुनिएको छ ।
एमाले कार्यकर्ताहरुले प्रदेशसभा सदस्यमा खड्काले टिकट पाउनु पर्ने र टिकट पाए जित्ने दाबी गरेका छन् ।
बलराम पोखरेल : बलराम पोखरेल नेकपा एमाले निकट नेपाल बुद्धिजीवि परिषदका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका संयोजक हुन् ।
एमालेभित्र बौद्धिक व्यक्तित्वको रुपमा छवि बनाएका पोखरेलको नाम प्रदेश क्षेत्र(ख)बाट सम्भावित उमेदवारको लिस्टमा दर्ज भएको छ । यहाँका एमाले कार्यकर्ताहरुले आगामी चुनावमा प्रदेश सांसदको लागि पोखरलेलाई नै उमेदवार बनाउनुपर्ने बताएका छन् ।
टिकट र उमेदवारीका विषयमा पोखरेल स्वयमले केही नबताए पनि नेता कार्यकर्ताले भने पोखरेलको नाम अघि सारेका छन् ।
शुशिल थपलिया : त्यस्तै क्षेत्र नम्बर १ कै क्षेत्र(क) मा भने एमाले नेता शुशिल कुमार थपलियाको नाम चर्चामा रहेको छ ।
नेकपा एमाले मधेश प्रदेश कमिटिका सदस्य समेत रहेका थपलियालाई पार्टीले टिकट दिएर उमेदवार बनाए चुनाव जितिने एमाले नेता कार्यकर्ताहरुको दाबी रहेको छ ।