भाईरल पोष्ट, बसबरिया ।। गाउँ कार्यपालिका सदस्यको निधनमा सर्लाहीको बसबरिया गाउँपालिकाले शोक बिदा दिएको छ ।
कार्यपालिका सदस्य सरिता सहनी मलाहको निधनमा गाउँपालिकाले मंगलबार एक दिनका लागि शोक बिदा दिइएको हो ।
गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले मंगलबार बिहानै एक सूचना जारी गरी शोक विदाबारे जानकारी दिनुभएको हो । सूचनामा भनिएको छ, ‘स्वर्गिय सहनीप्रति श्रद्धान्जली व्यक्त गर्दै आज एक दिनका लागि गाउँपालिका कार्यालय अन्तर्गतका सम्पूर्ण कार्यालय र शैक्षिक संस्थाहरु समेतमा शोक बिदा दिइएको छ ।’
जारी सूचनामा कार्यपालिका सदस्य सहनीको निधनले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको महसुस भएको समेत उल्लेख गरिएको छ । अध्यक्ष रायले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदनासमेत प्रकट गर्नुभएको छ ।
कार्यपालिका सदस्य सहनीको उपचारका क्रममा सोमबार काठमाण्डौंमा निधन भएको थियो । ५० वर्षीया उनको हृदयघातका कारण ज्यान गएको परिवारका सदस्यले बताएका छन् ।
बसबरिया गाउँपालिका वडा नम्बर २ निवासी सहनी बैशाख ३० को निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट वडाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । वडाध्यक्षमा पराजित भएपनि उहाँलाई कार्यपालिका सदस्य बनाइएको थियो ।