भाईरल पोष्ट, जनकपुरधाम ।। प्रधानमन्त्री शेरबहादुर देउवाको आश्वासनपछि मधेश सरकारले दिदै आएको धर्ना स्थगित गरिएको छ ।
मधेश प्रदेश सरकारले तीन दिन देखि प्रहरी समायोजनको माग गर्दै आएको धर्ना मुख्यमन्त्री लालबाबु राउतले एक पत्रकार सम्मेलनको आयोजना गर्दै स्थगित गरेका हुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा धर्ना कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । ‘गृहमन्त्रीसंग कुराकानी भएपछि प्रधानमन्त्रीसँग पनि कुराकानी भयो, उहाँले गठबन्धनकै सरकारमा हामी छौँ, त्यहाँ पनि हाम्रो गठबन्धनकै सरकार छ, प्रहरी समायोजनको मागमा हामी पनि सकारात्मक नै छौँ धर्ना स्थगित गर्नुस, मुख्यमन्त्री राउतले भने ‘त्यसपछि हामीले धर्ना स्थगित गरेका छौँ ।’ भोली बन्ने सरकारले प्रहरी समायोजनको विषयलाई प्रायोरिटिमा राखेर प्रहरी समायोजन हुन्छ नै, तपाईहरुको माग पूरा अवश्य पनि हुन्छ प्रधानमन्त्री देउवाले आश्वासन दिएको मुख्यमन्त्री राउतले जानकारी दिए ।
उनले मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले पनि लामो समयदेखि लविंग गर्दै आएको हुनाले उहाँको पनि पहलकदमीले संघीय सरकारसँग कुराकानी सकारात्मकरुपमा भएको बताए ।
हामीले संवैधानिक हिसाबले तत्काल प्रदेशवासीको शान्ति सुरक्षा प्रदान गर्न नसकेपनि संघीय सरकारबाट सकारात्मक आश्वासन पाएपछि धर्ना कार्यक्रम लगायतका आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्री राउतले स्पष्ट पारे ।