भाईरल पोष्ट, लालबन्दी ।। नेकपा एमालेका पूराना कार्यकर्ता कृष्ण भण्डारी पुनः आफ्नो पुरानो घर नेकपा एमालेमै फर्केका छन् । २०६४ को संविधानसभा निर्वाचन देखि एमाले त्यागेर नेकपा माओवादी केन्द्रमा संगठित भएका भण्डारीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू पुनः पुरानै घर नेकपा एमालेमा फर्केको घोषणा गरेका हुन् ।
आफु संगठित भएको पार्टी नेकपा माओवादी केन्द्रले सत्ताको मोहमा आफैंले विरोध गरेको एमसिसिलाइ ‘‘व्याख्यात्मक टिप्पणी’’ बहानामा सदनबाट पास गर्न सहयोग गरेपछि सामाजिक सञ्जालमा एक स्टाटस राख्दै स्वतन्त्र हैसियतमा बसेका भण्डारीले केही दिन अघि सामाजिक सञ्जालबाटै पुरानो घर नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
भण्डारीले पोष्ट गरेको निकै लामो स्टाटसमा भनिएको छ, ‘आफु जन्मिदा भन्दा अगाडिको इतिहास बुझ्दा अनि पढ्दा राणाहरुले गर्दा सात सालको क्रान्ति बनाइदिए, पञ्चहरुले गर्दा बहुदल आउने व्यवस्था बनाइदिए, काँङ्ग्रेसले गर्दा कम्युनिष्ट आउने वनाइदिए, राजाले गर्दा गणतन्त्र आउने व्यवस्था बनाइदिए भने अब यो गणतन्त्रमा कम्युनिष्टहरुले गर्दा अरु जन्मिने व्यवस्था आउन दिनु हुँदैन । त्यहि कारण अरु व्यवस्था आउन नदिन पुरानो कम्युनिष्ट पार्टीलाइ एकढिक्का बनाउन मैले पुरानो घर नेकपा एमालेमा नै बस्ने निधो गरेँ ।’
उनी अगाडि लेख्छन्, ‘पुरानो घरमा फर्किएको प्रमाण पेश गर्न कुनै पनि मंचमा खादा अनि माला पहिरिने गरी टिका ग्रहण गर्न जानु पर्छ भन्ने मेरो मान्यता छैन र नहोस पनि । म पुरानो पार्टीमा फर्किए पछि मलाइ यो पद चाहिन्छ भनेर भन्दा पनि भन्दिन एउटा भोटर भएर आफ्नो ठाउँबाट पार्टी पंक्तिलाइ सहयोग गर्ने छु । मेरो विगतको कामको मूल्यांकन अनि कार्यक्षमता, विकास र सुशासनप्रतिको मेरो दृष्टिकोण चित्त बुझ्दो लागेमा पार्टीले जिम्मेवारी दिएमा जिम्मेवारी बहन गर्न म पछि हट्ने छैन । जनताको बहुदलीय जनवाद जिन्दाबाद !’
उनीको घोषणालाई लिएर नेकपा एमालेका कार्यकर्ताहरुले सञ्जालमै खुशि व्यक्त गर्दै स्वागत गरेका छन् । उनको पोष्टमा कमेन्ट गर्दै नेकपा एमाले लालबन्दी नगर अध्यक्ष विक्रम भण्डारीले पनि स्वागत गरेका छन् । अध्यक्ष भण्डारीले पुरानो घर फर्किएका कृष्ण भण्डारीलाई छिट्टै नै कुनै न कुनै जिम्मेवारी दिने समेत बताएका छन् ।
भण्डारी २०५६ सालमा एसएलसी दिएपश्चात कम्यूनिष्ट पार्टीमा सक्रिय भएका पुराना एमाले कार्यकर्ता हुन् ।