भाईरल पोष्ट, लालबन्दी ।। नेपाल बुद्धिजीवि परिषदका केन्द्रीय सदस्य बलराम पोखरेलले खानेपानी तथा सरसफाई संस्था लालबन्दीको निर्वाचनमा लालबन्दीवासीले दलिय धारणाभन्दा माथि उठेर बौद्धिक र इमानदार ब्यक्तिलाई मतदान गरेको भन्दै खुशि व्यक्त गर्नुभएको छ ।
शनिवार सम्पन्न खानेपानी संस्थाको निर्वाचनबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका नेपाल सरकारका निवर्तमान उप–सचिव देवनाथ पोखरेलसहित उहाँको प्यानल विजयी भएपछि परिषदका मधेश प्रदेश संयोजक समेत रहनुभएका पोखरेलले मतदाता र लालबन्दीवासीहरुको निर्णयको उच्च मूल्यांकन गर्नुहुँदै खुशि व्यक्त गर्नुभएको हो ।
‘खानेपानीको निर्वाचनमा लालबन्दीका बौद्धिक बर्ग र यहाँका सचेत समुदायले दलिय धारणा भन्दा माथि उठेर आर्थिक पारदर्शिता र खानेपानीको दीगो व्यवस्थापनका लागि एउटा बौद्धिक र इमानदार ब्यक्तिको छनौट गर्नुभएको छ ।, संयोजक पोखरेलले भन्नुभयो, ‘यस किसिमको मतदान लालाबन्दीको इतिहासमा यसअघि भएकै थिएन । यो निर्वाचनमा दलिय बन्धन तोडिएको छ । विवेकको प्रयोग भएको छ । यस्तो हुनुमा उमेदवारको सादगी जीवन पद्धति र स्वच्छ आचरण नै मुलकारण बनेको छ ।’
उहाँले खानेपानी जस्तो संस्थालाई राजनीतिको अखडा बनाउन नहुने भन्दै स्वतन्त्र व्यक्ति र उहाँको प्यानललाई मत दिएर विजयी गराएको भन्नुहुँदै मतदाता र लालबन्दीवासीलाई धन्यवाद दिनुभएको छ ।
उहाँले नवनिर्वाचित अध्यक्ष पोखरेलसहितका पदाधिकारीहरुले सबै पक्षहरूसङ्ग अन्तरसमन्वय गरी आर्थिक पारदर्शिता र खानेपानीको दीगो व्यवस्थापनमा लाग्ने आशा समेत व्यक्त गर्नुभएको छ ।
उहाँले अध्यक्षमा निर्वाचित देवनाथ पोखरेल, उपाध्यक्ष गङ्गाराम महतो र सचिव हरिमाया थिङ्गलगायत सम्पुर्ण कार्यसमितिका सदस्यहरुलाई बधाई व्यक्त गर्नुभएको छ ।