भाईरल पोष्ट, हरिवन ।। काँग्रेस माओवादी लगायतका ५ दलले आगामी मंसीर ४ मा हुने आम चुनावमा चुनावी तालमेल गर्ने सहमति गरिसकेका छन् । जसअनुसार केन्द्रमा कुन क्षेत्र कस्लाई दिने भन्नेबारे छलफल सुरु भईसकेको छ ।
केन्द्रमा सिट बाँडफाडका लागि छलफल भईरहँदा जिल्ला तहमा भने सम्भावित उमेदवारहरुले आ–आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । यसैक्रममा नेकपा माओवादी केन्द्रको भागमा पर्ने प्रायः निश्चित जस्तै भएको सर्लाही क्षेत्र नम्बर ३ मा पनि माओवादीबाट उमेदवार बन्ने सम्भावित उमेदवारहरुको चर्चा भईरहेको छ । यसबीच नेकपा माओवादी केन्द्र हरिवन नगरकमिटि अध्यक्ष अर्जुन पन्तले निर्वाचन क्षेत्र ३ को (क) मा आफ्नो दाबी रहेको बताउनुभएको छ । भाईरल पोष्ट टेलिभिजनमा पत्रकार सोम दियालीसँग कुराकानी गर्नुहुँदै नगरकमिटी अध्यक्ष पन्तले सर्लाही ३(क)बाट उमेदवार बन्न पार्टीका नेता, कार्यकर्ता तथा आम शुभेच्छुक शुभचिन्तकहरुले चाहाना व्यक्त गर्नुभएको बताउनुभयो ।
‘साथीहरुले प्रदेश सभामा चुनाव लड्न आग्रह गरिरहनुभएको छ । गठबन्धनले सिट बाँडफाड गर्दा पनि यो क्षेत्र माओवादी केन्द्रकै भागमा पर्ने निश्चित जस्तै छ ।’, नगरकमिटी अध्यक्ष पन्तले भन्नुभयो, ‘पार्टीले योग्य ठानेर टिकट दिए म साथीहरु, पार्टीका नेता तथा कार्यकर्ता र आम शुभेच्छुक शुभचिन्तकको चाहाना अनुसार नै चुनाव लड्न तयार छु ।’
उहाँले आफूले चुनाव जिते आफूले जितेको क्षेत्रको विकासमा कायापलट गर्ने पनि दाबी गर्नुभयो । ‘टिकट पाए म चुनाव जित्छु नै । जितेपछि यूवालक्षित कार्यक्रमहरु गर्छु । स्वदेशमै रोजगार सिर्जना गरी यूवालाई परदेश हैन घरदेशमै केही गर्ने अवसर सिर्जना गर्छुृ ।’ नगरअध्यक्ष पन्तले भन्नुभयो, ‘म लामो समय पार्टीको सिपाही भएर काम गरेको मान्छे । यहाँका जनताका समस्या र आवश्यकतासँग म परिचित छु । र मैले जित्दा जनताका सबै आवश्यकताहरु पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
यता हरिवन नगरकमिटीमा देखिएको विवादका प्रसंगमा भने नगर अध्यक्ष पन्तले नगरकमिटीमा देखिएको विवाद सानोतिनो विवाद भएकोले त्यो समाधान हुने अवस्थामा रहेको बताउनुभयो । ‘यो ठुलो विवाद हैन र थिएन । यसलाई मिडियावाजी गर्नु आवश्यक थिएन तर पनि गरियो । विवाद समाधानको प्रक्रियामा रहेकोले कतिपय अफवाहा र हल्लाको पछि नलाग्न पनि म नेता तथा कार्यकर्ताहरुमा अपील गर्दछु ।’
अध्यक्ष पन्तले भन्नुभयो,‘माओवादी केन्द्र सबैको साझा पार्टी हो । यो पार्टी निर्माणमा सबैले दुख गरेका छन् । म आफैले पनि दुख गरेको छु । असन्तुष्ट साथीहरुले पनि आफ्ना कमीकमजोरीहरुलाई सच्याएर आउँदा सबैको भलो नै हुन्छ । अब चुनाव आएकोले पार्टीमा वादविवाद भन्दा पनि पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्न म सबैलाई आग्रह गर्दछु ।