सोम दियाली, सर्लाही ।। आगामी मंसीर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा सर्लाहीमा नेकपा माओवादी केन्द्रले पाउने क्षेत्रको टुंगो लागेको छ ।
पाँच दलीय गठबन्धनको एउटा प्रमुख घटक रहेको माओवादी केन्द्रले सर्लाहीमा दुई ओटा प्रतिनिधि सभा र दुई ओटा प्रदेशसभासहित ४ सिट पाउने माओवादी केन्द्रका एक केन्द्रीय नेताले बताउनुभएको छ ।
‘सर्लाहीमा माओवादी केन्द्रले पाउने क्षेत्र र संख्याको विषयमा पार्टीभित्र लगभग टुंगो लागिसकेको छ । ती क्षेत्रमा उमेदवारको पनि टुंगो लागिसकेको छ । अध्यक्ष प्रचण्ड जापानबाट फर्किने बित्तिकै टुंगिन्छ ।’ ती नेताले भन्नुभयो । ती नेताका अनुसार माओवादी केन्द्रले प्रतिनिधिसभा अन्तर्गत ३ र ४ नम्बर क्षेत्र पाउनेछ । त्यस्तै प्रदेशसभा अन्र्तगत क्षेत्र नम्बर ३ को (ख) र ४ को (ख) पाउने छ ।
ती नेताका अनुसार माओवादी केन्द्रले पाउने क्षेत्रमा उमेदवारको पनि टुंगो लागि सकेको छ । जसअनुसार ३ नम्बर क्षेत्र अहिलेका प्रतिनिधिसभा सदस्य पूर्वमन्त्री रामेश्वर रायले नै पाउनु हुनेछ भने माओवादीकै भागमा परेको ३ कै (ख) मा नेता राजकुमार यादवलाई टिकट दिने टुंगो लागेको छ ।
त्यस्तै माओवादी केन्द्रका भागमा परेको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा पूर्व सांसद शिवपुजन रायकी श्रीमतीलाई उमेदवार बनाउने तयारी गरिएको छ भने क्षेत्र नम्बर ४को (ख) बाट माओवादी केन्द्रका पूर्व उपत्यका ईन्चार्ज प्रचण्ड निकट यूवा नेता श्रीचन यादव(सुजन)ले पाउनु हुनेछ ।
ती नेताका अनुसार गठबन्धको भागबण्डा अनुसार सर्लाहीमा नेपाली काँग्रेसले प्रतिनिधि सभामा एउटा क्षेत्र(क्षेत्र नम्बर १) मात्रै पाउने छ भने प्रदेशसभा अन्तर्गत ५ ओटा पाउनेछ । जसमा काँग्रेसले क्षेत्र नम्बर १ को एउटा, २ को एउटा र ३ र ४ को एउटा एउटा क्षेत्र गरी ४ ओटा क्षेत्र पाउनेछ ।
त्यस्तै गठबन्धनको साझेदार अर्को बाबुराम भट्टराईको दलले २ नम्बर क्षेत्र पाउनेछ । त्यहाँ सांसद तथा पूर्वमन्त्री महेन्द्र राय यादव उमेदवार बन्नुहुनेछ । जसपाले सर्लाहीमा पाउने अन्य क्षेत्रको टुंगो लागेको छैन भने गठबन्धनकै अर्को घटक माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले क्षेत्र नम्बर १ को प्रदेश (ख) पाउनेछ ।
तर नेपाली काँग्रेसले भने सर्लाहीमा बढीभन्दा बढी क्षेत्र आफूहरुले पाउनुपर्ने दाबी गरिरहेको छ ।