सोम दियाली, कौडेना ।। नेपाली काँग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय(डिना)ले केन्द्रमा गठबन्धन भएपनि सर्लाहीमा काँग्रेसको पक्षमा बढी क्षेत्र हुनुपर्ने बताउनुभएको छ ।
सोमबार कौडेना गाउँपालिकामा सामुदायिक अस्पताल र विष्णु मन्दीरको शिलान्यास गर्न सर्लाही आउनुभएकी सह–महामन्त्री उपाध्याले स्थानीय तह निर्वाचनमा सर्लाहीका २० मध्ये १२ पालिकामा काँग्रेस जितेकोले गठबन्धन हुँदा पनि यहाँ बढीभन्दा बढी क्षेत्र काँग्रेसको पक्षमा हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्थानीय तह निर्वाचनमा सर्लाही काँग्रेसले देखाएको शक्तिको आँकलन र मूल्यांकन केन्द्रले गर्नुपर्दछ । त्यसैले यहाँ बढीभन्दा बढी क्षेत्र काँग्रेसले पाउनुपर्ने कुरामा मेरो पनि जोड रहन्छ । म आफै केन्द्रीय तहमा यो कुरा राख्नेछु र बढीभन्दा बढी क्षेत्र काँग्रेसको पक्षमा पार्न लाग्नेछु ।’
उहाँले स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट नयाँ जितेको, पुनः जितेका जनप्रतिनिधिहरुले पार्टीका हरेक निकायसँग समन्वय गरेर जनतका सेवामा समर्पित हुने काममा लाग्न पार्टीले निर्देशन जारी गर्ने तयारी गरिरहेको बताउनुभयो । पार्टीले त्यसका लागि आचारसंहिता तयार गरिसकेको बताउनुहुँदै सह–महामन्त्री उपाध्यायले पार्टीको निर्देशन छिट्टै नै पालिका पालिकामा पुग्नेभएकोले पार्टीको आदर्श, पार्टीको सिद्धान्त, जनताप्रति आवद्ध र जनताका काममा समर्पित भएर लाग्न सबै निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
उहाँले पार्टीमा अहिले वातावरण खलबलिएकोले त्यसलाई सबैमिलि हटाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको चुनाव चिन्हबाट जितेकाहरु पनि म आफै जितेको हुँ भन्न थालेका छन् । चुनावमा मैले टिकट पाए मात्रै जित्छु अरुले जित्दैनन् भन्ने भावना पनि कतिपय नेता कार्यकर्तामा हाबी भएको छ ।’
कौडेना गाउँपालिकामा आएर अस्पताल र मन्दिरको शिलान्यास गर्न पाउँदा निकै खुशि लागेको बताउनुभयो । उहाँले आफू स्थानीय तह निर्वाचन अघि पनि कौडेना आएको बताउनुहुँदै भन्नुभयो,‘मलाई कौडेनामा आएर अस्पताल र मन्दिरको शिलान्यास गर्न पाउँदा निकै खुशि लागेको छ । म स्थानीय तह निर्वाचन अघि पनि सर्लाही आएको थिएँ । पार्टीले चलाएको जागरण अभियानका क्रममा म सर्लाहीका प्रत्येक पालिका पालिका पुगेको छुु ।’
उहाँले कौडेनाका जनता यहाँका अध्यक्ष रुपेश कुमारबाट निकै नै आशावादी रहेको आफूले पाएको बताउनुभयो । ‘नयाँ जनप्रतिनिधिले केही गर्छन् भन्ने यहाँका जनतामा आशा छ । म आउँदा खेरी अस्पतालको शिलान्यास गर्ने थाहा पाएका यहाँका जनताले रुँदै हामीलाई उपचारमा समस्या थियो तपाईले अस्पताल बनाएर गाउँवासीको उद्धार गर्न लाग्नुभएको छ भन्दै अध्यक्षलाई धन्यवाद दिएको देख्दा मलाई निकै खुशि लाग्यो ।’ प्रमुख अतिथी डिनाले भन्नुभयो ।