सोम दियाली, कौडेना ।। सर्लाहीको कौडेना गाउँपालिकामा सोमबार एकैदिन ८ करोडको दुई योजना शिलान्यास गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर २ स्थित ईनरुवामा २ करोडको लागतमा विष्णु भगवानको मन्दिर र वडा नम्बर २ कै फुलपरासीमा १० शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण हुनेभएको हो । दुबै योजनाको सोमबार गाउँपालिका अध्यक्ष रुपेश कुमारको अध्यक्षतामा नेपाली काँग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय(डिना)ले शिलान्यास गर्नुभएको छ ।
गाउँपालिकाले आफ्नै लगानीमा ईनरुवामा विष्णुु भगवानको मन्दिर र फुलपरासीमा सामुदायिक अस्पताल निर्माण गर्न लागेको हो । आगामी फागुन सम्ममा सञ्चालनमा ल्याउने गरी फुलपरासीमा निर्माण गर्न लागिएको १० शैयाको अस्पताल निर्माण लागत ६ करोड र ईनरुवामा निर्माण गर्न लागिको मन्दिरको लागत २ करोड अनुमान गरिएको छ ।
शिलान्यास कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष रुपेश कुमारले आफूले चुनावअघि गाउँवासीको सुविधाको लागि अस्पताल निर्माण गर्ने बाचा गरे अनुरुप नै गाउँसभाबाट बजेट पास गराएको बताउनुभयो । ‘बरु मर्न तयार हुन्छु तर तपाईहरुसँग गरेको बाचा कहिल्यै तोड्दिन ।’ गापा अध्यक्ष रुपेश कुमारले भन्नुभयो, ‘मैले चुनावअघि अस्पताल बनाउँछु भनेको थिएँ । सोही अनुरुप आज अस्पतालको शिलान्यास भएको छ । यो अस्पताल आगामी फागुनभित्रैमा सञ्चालनमा आउने गरी काम हुन्छ । म तपाईहरुलाई ढुक्क हुन आग्रह गर्दछु ।’
उहाँले पाँच वर्षभित्रमा गाउँपालिकालाई सुविधा सम्पन्न स्मार्ट गाउँपालिका बनाउने बताउनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथी नेपाली काँग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय(डिना)ले कौडेना गाउँपालिकामा आएर अस्पताल र मन्दिरको शिलान्यास गर्न पाउँदा निकै खुशि लागेको बताउनुभयो । उहाँले आफू स्थानीय तह निर्वाचन अघि पनि कौडेना आएको बताउनुहुँदै भन्नुभयो,‘मलाई कौडेनामा आएर अस्पताल र मन्दिरको शिलान्यास गर्न पाउँदा निकै खुशि लागेको छ । म स्थानीय तह निर्वाचन अघि पनि सर्लाही आएको थिएँ । पार्टीले चलाएको जागरण अभियानका क्रममा म सर्लाहीका प्रत्येक पालिका पालिका पुगेको छुु ।’
उहाँले कौडेनाका जनता यहाँका अध्यक्ष रुपेश कुमारबाट निकै नै आशावादी रहेको आफूले पाएको बताउनुभयो । ‘नयाँ जनप्रतिनिधिले केही गर्छन् भन्ने यहाँका जनतामा आशा छ । म आउँदा खेरी अस्पतालको शिलान्यास गर्ने थाहा पाएका यहाँका जनताले रुँदै हामीलाई उपचारमा समस्या थियो तपाईले अस्पताल बनाएर गाउँवासीको उद्धार गर्न लाग्नुभएको छ भन्दै अध्यक्षलाई धन्यवाद दिएको देख्दा मलाई निकै खुशि लाग्यो ।’ प्रमुख अतिथी डिनाले भन्नुभयो ।
मन्दिर र अस्पतालको शिलान्यास कार्यक्रममा पूर्व साँसद जंगीलाल राय, पूर्वमन्त्री संविधानसभा सदस्य शम्भुलाल श्रेष्ठ, संविधानसभा सदस्य हरेश महतो, हरिपूर्वा नगरपालिकाका मेयर विनोद कुमार साह, कविलासी नगरपालिकाका प्रमुख ब्रह्मदेव राय, विष्णु गाउँपालिका अध्यक्ष जवाहार लाल राय, पर्सा गाउँपालिका अध्यक्ष धिरेन्द्र राय, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव निरोज कार्की, पूर्व सहसचिव डोर प्रसाद भट्टराई, काँग्रेस नेताहरु प्रमोद बराल, दिपक अधिकारी, नवराज अधिकारी, सोनी कुमारी बोम्जन, सर्लाही क्याम्पसका पूर्व प्रमुख कृष्णदेव यादव लगायत काँग्रेसका विभिन्न तहतप्ताका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।