भाइरल पोष्ट,काठमाडौं ।। राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधि सभाको बैठक राखेर राज्यकोदोहन गरिएको बताएका छन् ।
सोमवार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेपछि सांसदहरुको कार्यकाल समाप्त भएको बताए । सांसद देवकोटाले कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राखेर राज्यको दोहन नगर्न आग्रह गरेका छन् ।
संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उहाँले संविधान अनुसार सभामुख र उपसभामुख बाहेकका सांसदहरुको कार्यकाल समाप्त भयो भनेर बुझ्नुपर्ने बताएका छन् ।
उनले निर्वाचनको मिति घोषणा गरेपछि सरकार, प्रतिनिधि सभा र प्रदेश सभा काम चलाउ भएकाले दीर्घकालिन महत्व राख्ने र प्रभाव पार्ने कुनै निर्णय नगर्न तथा नीति तथा कानून नबनाउन सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका छन् । राष्ट्रियसभा सदस्य देवकोटाले राजनीतिलाई दुहुनो गाई ठान्ने घातकप्रवृत्ति रहेको टिप्पणी गर्दै यस्तो प्रवृत्तिको अन्त्यका लागि लगातार दुई पटक निर्वाचनमा विजयी भएकाहरुलाई तेस्रो पटक टिकट नदिन प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।