अमृता पासवान, रौतहट ।। दलित सरोकार मञ्च र राष्ट्रिय दलित पत्रकार संघले मतदाता नामावलीमा नाम छुटेकाहरुको नाम समावेश गर्न समय थप गर्न माग गरेको छ ।
गरुडा स्थित आशिर्वाद गेष्टहाउसमा पत्रकार सम्मेलन गर्दै मञ्च र संघले मतदाता नामावलीमा नाम छुटेकाहरुको नाम समावेश गर्न समय थप्नुपर्ने माग गरेको हो ।
स्थानीय तहको निर्वाचन अघि गरिब, विपन्न, दलित, महिला तथा सिमांकृत समुदायहरुको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेको भन्दै उनीहरुले निर्वाचन कार्यालयले समय थप गरी छुटभएकाहरुको नाम समावेश गर्न माग गरेका हुन् ।
पत्रकार सम्मेलनका क्रममा दलित अगुवा तथा राष्ट्रिय दलित पत्रकार संघ रौतहटका अध्यक्ष राजेश पासवान निर्माणीले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि निर्वाचन सम्बन्धी कानुन सबै दल, उम्मेदवार तथा मतदातालाई समान तथा न्यायोचित हुनुपर्ने र सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्ने अवसर दिइनुपर्ने भन्दै नाम छुटेकाहरुको नाम समावेश गर्न समय थप गर्नुपर्ने माग गरे ।
उनले जिल्ला स्थित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय मार्फत मतदाता नामावली संकलन गरिएपनि एक जना मात्र कर्मचारीले फारम भर्ने, रुजु गर्ने र कम्प्युटरमा फोटो खिच्ने काम गर्नुपरेकोले भिगभाड भयो र एक हप्तासम्म पनि सर्वसाधारण जनताको पालो आउन नसकेको बताए ।
पासवानले निर्वाचन कार्यालयमा पनि पहुँचको आधारमा नाम दर्ता गर्ने काम भएको आरोप लगाउदै वडाध्यक्ष तथा पालिका प्रमुखले कर्मचारीसंग मिलोमतो गरेर आ–आफ्ना मान्छेको नाम दर्ता गराउने काम भएको कारण दैनिक ज्याला मजदुरी गरेर खाने मान्छेहरुको नाम छुटेको बताए ।
स्थानीय तहको निर्वाचन पश्चात बितेको असार १ गते देखि पुनः निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयले मतदाता नामावली संकलन गर्ने काम सुरु गरेको थियो । तर यस समयमा खेतीपातीको काम सुरु भएकोले महिला र गरिब दलितहरु खेतीपातीमा लागेका कारण पुनः नाम दर्ता गराउनबाट बन्चित भएको मञ्च र संघले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।