सोम दियाली, लालबन्दी ।। खानेपानी तथा सरसफाई संस्था लालबन्दीको नयाँ कार्यसमितिको लागि यही साउन २८ गते हुने निर्वाचन अन्तर्गत आज उमेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।
निर्वाचनको कार्यतालिकाअनुसार आज उमेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हो । जस अन्तर्गत श्याम श्रेष्ठ(हेम) को प्यानलले घर छाप चुनाव चिन्ह पाएका छन् । त्यस्तै ईन्द्र बहादुर योन्जन नेतृत्वको प्यानलले करुवा चुनाव चिन्ह पाएका छन् भने अर्का अध्यक्ष पदका उमेदवार देवनाथ पोख्रेलले नेतृत्वको प्यानललाई चश्मा छाप चुनाव चिन्ह प्रदान गरिएको छ । चुनाव चिन्ह पाउनु अघिदेखि नै व्यापक प्रचार प्रसारमा लागेका उमेदवारहरुले चुनाव चिन्ह पाएलगतै प्रचार प्रसारलाई थप तिब्रता दिएका छन् ।
श्याम श्रेष्ठ(हेम) नेतृत्वको प्यानलमा अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष पदका उमेदवार ईन्द्र बल, सचिव पदकी उमेदवार राधा भण्डारी र कोषाध्यक्ष पदका उमेदवार घामराज श्रेष्ठ(राजकुमार)सहितका कार्यसमिति र वडा समन्वय समितिका पदाधिकारीका उमेदवारहरु धमाधम प्रचार प्रसारमा लागेका हुन् ।
त्यस्तै करुवा चुनाव चिन्ह लिएर ईन्द्र बहादुर योन्जन नेतृत्वको प्यानल पनि मत माग्दै उपभोक्ताको घरघरमा पुगिरहेका छन् । योन्जनको प्यानलबाट उपाध्यक्षमा अर्जुन चौधरी, कोषाध्यक्षमा अप्सरा वाग्ले र सचिवमा कपिल देवकोटा चुनावी मैदानमा उत्रिएका छन् भने पूर्वउपसचिव समेत रहेका देवनाथ पोखरेल नेतृत्वको प्यानलमा भने गंगाराम महतो उपाध्यक्ष, हरिमाया थिङ्ग सचिव र कोषाध्यक्षमा मान बहादुर विकले उमेदवारी दिएका छन् ।
खानेपानी जस्तो संस्थामा पनि राजनीति ?
खानेपानीको चुनाव विशुद्ध दलको चुनाव जस्तै हुनेभएको छ । खानेपानीको ४ वर्षे कार्यकालको नेतृत्व गर्न कस्सिएका उमेदवारहरु सबै दल समर्थित उमेदवारहरु रहेका छन् ।
खानेपानीको चुनावमा काँग्रेसले एकीकृत समाजवादीसँग तालमेल गरेको छ भने माओवादीले साना दल जसपा र लोसपासँग तालमेल गरेको छ । यता एमाले निकट प्यानलको नेतृत्व भने देवनाथ पोख्रेलले गरेका छन् ।
यसअघिका अध्यक्ष बासुदेव अधिकारी नेपाली काँग्रेसबाट लालबन्दी नगरपालिकाको मेयर बनेपछि खानेपानीको अध्यक्ष पद रिक्त भएको थियो । उपाध्यक्ष राधिका भण्डारीले कार्यवाहक अध्यक्ष सम्हालेको भएपनि कार्यावधि सकिएपछि नयाँ नेतृत्व चयन गर्न लागिएको हो ।
खानेपानीको नेतृत्व सहमतिमै टुंग्याउन खोजिएपनि केही दलका नेताहरुले चुनावमै जानुपर्ने अडान लिएपछि चुनाव हुन लागेको हो ।
यो चुनावलाई पनि स्थानीय तहको निर्वाचनलाई जस्तै गरि निकै चासोका साथ हेरिएको छ । दलहरुले खानेपानीमा आफ्नो प्यानल जित्नु लाई प्रतिष्ठाको विषय ठानेको देखिन्छ ।
कस्ले मार्ला बाजी ?
चुनावमा होमिएका उमेदवारहरुले आफूहरुले नै जित्ने दाबी गरिरहेका छन् । तर प्यानलै बनाएर चुनावमा होमिएकाहरुसँग एजेण्डा भने केही देखिँदैन । यस्तोमा कस्ले बाजी मार्ला ? खानेपानी उपभोक्ताहरुले कस्लाई पत्याउलान् ? त्यो भने हेर्न नै बाँकी छ ।
तर कतिपयले काँग्रेस–समाजवादी गठबन्धनको प्यानलले जित्ने आँकलन गरेका छन् । गएको स्थानीय तह निर्वाचनमा नगरपालिकामा काँग्रेसले जितेकोले खानेपानीको चुनावमा पनि काँग्रेसले नै जित्ने धेरैले अनुमान गरेका छन् ।
त्यस्तै एकथरीले भने श्याम श्रेष्ठ(हेम)को प्यानलले जित्ने अनुमान गरेका छन् । श्याम श्रेष्ठ आफैमा केही गरौं भन्ने सोचका साथ समाजसेवामा लागेका व्यक्ति हुन् । उनी नगरपालिकामा प्रदेश र केन्द्रदेखि कै योजनाहरु पार्न सक्ने खुबी भएकोले उनकै प्यानलले जित्ने अनुमान गरिएको छ ।
त्यस्तै एकथरी भने खानेपानी जस्तो विशुद्ध संस्थामा राजनीति भएको भन्दै संस्थालाई राम्रो ढंगले अघि बढाउन पनि देवनाथ पोख्रेल जस्तो व्यक्ति अध्यक्ष हुनु पर्ने र पोख्रेलले नै जित्ने अनुमाग छ ।
चुनाव जस्ले जितेपनि लालबन्दीवासीलाई सुलभ र सस्तो मूल्यमा सुरक्षित पिउने पानी उपलब्ध गराउने काममा लाग्ने नेतृत्व अबको निर्वाचनले दिनुपर्नेछ । आम उपभोक्ताले सक्षम नेतृत्व छानेर निर्वाचित गराउनु पर्नेछ ।